Kathmandu Press

धीरज राई, प्रशान्त ताम्राकार र सुरक्षा पन्तको शिवरात्रि अनुभव 

हिन्दूधर्मावलम्बीले शिवरात्रिलाई विशेष पर्वका रूपमा मनाउँछन् । शिवरात्रिका सम्बन्धमा हामी धेरैको आ–आफ्नै अनुभव हुन सक्छ ।
धीरज राई, प्रशान्त ताम्राकार र सुरक्षा पन्तको शिवरात्रि अनुभव 

काठमाडाैं, फागुन  १७ : शिवरात्रि हिन्दूको प्रमुख र पवित्र चाड हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट यो पर्वको नामकरण भएको पाइन्छ । हिन्दूका प्रमुख तीन भगवानमध्ये शिवलाई एक मानिन्छ ।

विद्वानहरूले शिवलाई अनेक सकारात्मक ऊर्जाका रूपमा पनि व्याख्या गरेका छन् । हामीकहाँ शिवको नाममा व्रत बस्ने प्रचलन छ । शिवरात्रिलाई चार कालरात्रिमध्ये एक मानिन्छ, त्यसैले धार्मिक हिसाबले यस पर्व विशेष महत्वको छ । हिन्दूधर्मावलम्बीले शिवरात्रिलाई विशेष पर्वका रूपमा मनाउँछन् । शिवरात्रिका सम्बन्धमा हामी धेरैको आ–आफ्नै अनुभव हुन सक्छ । प्रस्तुत छ, काठमान्डु प्रेसकर्मी सोनी शाहीले केही कलाकारसँग शिवरात्रिको अनुभवका सम्बन्धमा गरेको टेलिफोन वार्ताको सम्पादित अंश :

‘आलु पोलेर खाएको सम्झन्छु’
सुरक्षा पन्त, कलाकार

Hardik ivf

शिवरात्रि भन्नेबित्तिकै मलाई आलु पोलेर खाएको याद आउँछ । धेरैले शिवरात्रिको दिन भाङ खाएका किस्सा सुनाउँछन् । मसँग त्यस्तो कुनै एक्स्पेरियन्स छैन । स्कुल पढ्दा भाङको लड्डुचैँ खाएकी थिएँ । तर, त्यस्तो असर गरेको थिएन ।

सानोमा म बुटवल बस्दा शिवरात्रिमा दिनभरि बाटो छेकेर पैसा उठाउँथ्यौँ र राति सबै परिवार बसेर आँगनमा आगो बाल्थ्यौँ । आँगनमा आगो बाल्न थाल्नेबित्तिकै हामी हतारहतार भान्सामा गएर आलु लिएर आउँथ्यौँ र पोलेर खान्थ्यौँ । त्यही भएर पनि मलाई शिवरात्रि भन्नेबित्तिकै त्यही आलु पोलेर खाएको याद आउँछ । आज म बाटोमा हिँड्दै गर्दा बच्चाहरूले बाटो छेकेर पैसा माग्दा आफ्नै बच्पना याद आयो ।

यसबाहेक करिब १३ वर्षअगाडि म भर्खरै काठमाडौंमा बस्न आएकी थिएँ । शिवरात्रिकै समयतिर साथीहरूले पशुपति मन्दिरमा आरति हुन्छ, भनेर लगेको थियो । त्यो आरतीको अहिले पनि सम्झना आउँछ । त्यहाँको माहोल अहिले पनि सम्झन्छु, छुट्टै आनन्द मिलेको थियो । त्यो समयमा मान्छेको भीड पनि अहिलेजस्तो थिएन । 

आजको दिन मैले दोस्रो जन्म पाएँ
प्रशान्त ताम्राकार, कलाकार

हामी करिब २५ वर्षअगाडि क्याम्पिङका लागि रिभर साइड गएका थियौँ, दीपक बज्राचार्य, म लगायत करिब सात साथी । शिवरात्रिमा रमाइलो गर्नुपर्छ भनी गाडी नै रिजर्भ गरेका थियौँ ।  बाटोमै हाम्रो गाडी पल्टियो ।

तस्बिर : सुजल बज्राचार्य

बाँच्छु जस्तो लागेको थिएन । दीपक त झन् सिसाबाट बाहिरै निस्केको थियो । अरुलाई सामान्य चोट मात्र लाग्यो । त्यो सम्झन लायकको क्षण त ्होइन, तर अहिलेसम्म शिवरात्रि भन्नेबित्तिकै त्यो दिन आँखामा झलझली आउँछ । त्यो दुर्घटनामा हामी बाँच्नुलाई म दोस्रो जन्मको रूपमा लिने गरेको छु । 

साथै गत वर्ष ‘डान्सिङ विथ द स्टार’मा शिव ताण्डव पर्फमा डान्स गरेको थिएँ । त्यसले गर्दा शिवरात्रि विगतको तुलनामा विशेष लाग्न थालेको छ । 

महाद्य ता चिकुल, सिं नेकु टि
धीरज राई, गायक

शिवरात्रि भन्नेबित्तिकै सानो बेला काठ जलाउने, बाटो छेकेर पैसा उठाउने, आगो ताप्ने दिनहरूको याद आउँछ । त्यति बेला काठमाडौंमा अहिले जस्तो घना बस्ती नभएको हुँदा चिसो बढी हुन्थ्यो । 

पहिलेदेखि काठमाडौंमै बसेकाले मेरा नेवार साथी धेरै थिए । उनीहरूले मलाई ‘महाद्य ता चिकुल, सिं नेकु टी’ भन्ने गीत गाउन लगाउँथे, हामीले यो गीत गाउँदै बाटो छेकेर पैसा उठाउँथ्यौँ । त्यो बेला मलाई यसको अर्थ पनि थाहा थिएन । पछि आएर ‘महाद्य ता चिकुल, सिं नेकु टि’ भन्नुको अर्थ ‘महादेवलाई जाडो भयो, दाउरो किन्न पैसा देऊ’ भनिएको रहेछ । अहिले ती दिन सम्झेर मन आनन्द हुन्छ । आज पनि बाटोमा बच्चाले बाटो छेकेर पैसा उठाइरहेको देख्छु । त्यही दिन आँखाअगाडि आयो ।

यस्तै, हामी सानो छँदादेखि नै शिवरात्रिका दिनमा पानी पर्छ भनेर सुन्दै आएका छौँ । त्यो सत्य पनि साबित भएको छ । अहिलेसम्म मलाई हरेक शिवरात्रिमा पानी परेको थाहा छ । हरेक वर्षझैँ यो वर्ष पनि आजको दिन कुनै न कुनै बेला पानीको एक थोपा भए पनि पर्छ नै । हरेक वर्ष धेरै कुरामा परिवर्तन आए तर पानी पर्नेमा परिवर्तन आएको छैन । आज पनि म पानी कहिले पर्छ भनेर पर्खिरहेको छु । 
 

प्रकाशित मिति: १८:१७ बजे, मंगलबार, फागुन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्