Kathmandu Press

ग्रेटा थुनबर्ग: जलवायु संकटको किशोरी अभियन्ता

न्यूयोर्क, असोज ७ : मान्छे हेर्दा सानी छिन्। तर वाशिङ्टनको कंग्रेसनल हियरिङमा पुगेपछि यी सानी नानी नै क्यापिटोल हिलको सबैभन्दा पाका व्यक्तिका रूप....

ग्रेटा थुनबर्ग: जलवायु संकटको किशोरी अभियन्ता

न्यूयोर्क, असोज ७ : मान्छे हेर्दा सानी छिन्। तर वाशिङ्टनको कंग्रेसनल हियरिङमा पुगेपछि यी सानी नानी नै क्यापिटोल हिलको सबैभन्दा पाका व्यक्तिका रूपमा प्रस्तुत भइन्।

रिपब्लिकनको चर्चाका बुँदा र डेमोक्रेटिकको मिथ्या प्रशंसालाई उनले ठाडै चुनौती दिइन्। हाउस फोरेन अफेयर्स सबकिमिटी अन क्लाइमेट हुन् वा अन्य, अधिकांश वयस्कभन्दा जलवायु संकटको मुद्दालाई उनले गम्भीरतापूर्वक लिएको सहजै बुझ्न सकिन्थ्यो।

“यो मुद्दामा धेरैभन्दा धेरै बालबालिकालाई कसरी संलग्न गराउने?” न्यू मेक्सिकोका डेमोक्रेट बेन लुयानले सोधे। “उनीहरूलाई सत्य बताउनुहोस्,” उनले भनिन्,“यसको वास्तविक अवस्था कस्तो छ, बताउनुहोस्। किनभने सत्य थाहा पाएर मलाई साह्रै रिस उठेको थियो।”

Hardik ivf

उनको व्यवहार शान्त र दृढ छ। आवाजमा नम्रता छ। उनी आफूलाई आधुनिक समयको सबैभन्दा अनिच्छुक अभियन्ता बताउँछिन्। इन्स्टाग्रामको फिल्टर र प्रभावशाली इन्फ्लुएन्सर्सको युगमा उनको इमान्दारिताले उनलाई विश्वभरि नै चिनाएको छ।

“अहिले सामान्यतया मानिसहरू वास्तविक विज्ञान र यो संकट कति गम्भीर छ भन्नेबारे खासै सचेत छैनन्,” दर्जनौं क्यामेरासामू उनले विधायकहरूलाई यो साताको सुनुवाइमा भनिन्,”मेरो विचारमा हामीले उनीहरूलाई सूचित गराउनुपर्छ। यो संकटलाई अस्तित्वकै खतराको रूपमा लिनुपर्छ।”

मानवताले कठोर सत्य पनि बोल्न सक्नुपर्छ भन्ने विश्वासका साथ ठुनबरीले “स्कूल स्ट्राइक फर क्लाइमेट” सुरू गरिन्। “मलाई चर्चाको केन्द्रमा बस्न मन पर्दैन,” उनले भनिन्,”जतिबेला पनि मेरै कुरा सुन्नुपर्छ भन्ने छैन तर परिस्थितिमा सुधार ल्याउन मैले केही गर्न सक्छु भने यो खासै ठूलो कुरा होइन।”

स्टकहोल्मको संसदअघि धर्ना दिएको एक वर्ष पुगेकै छैन। अमेरिकामा बन्दुक नियन्त्रणका लागि विद्यालय हड्तालको स्वीडेनी संस्करण उनी एक्लैले सुरू गरिन्। “जलवायु हड्तालको साङ्केतिक अर्थ के  भने यदि तिमी वयस्कहरूले मेरो भविष्य बेवास्ता गर्छौं भने मलाई मतलब छैन,” उनले भनिन्।

दोश्रो दिनबाट उनलाई साथ दिनेहरू जम्मा हुन थाले। दोश्रो सातादेखि सामाजिक सञ्जालमा एउटा भाइरल आन्दोलन सुरू भयो र केही महिनामा संयुक्त राष्ट्र संघले जलवायु परिवर्तनबारे पोल्यान्डमा गरेको सम्मेलनमा उपस्थित गण्यमान्यसामू उनी उभिएकी थिइन्। “तपाईं अनन्त: हरित आर्थिक वृद्धिबारे मात्रै कुरा गर्नुहुन्छ किनभने तपाईंलाई अलोकप्रिय हुने डर छ,” उनले भनिन्।

एक महिनापछि उनी रेल चढेर स्वीट्जरल्यान्डको डाभोस पुगिन्। टेन्टमा सुतिन् तर धनी र शक्तिशाली व्यक्तिहरूलाई घरमा आगो लागेको भन्दै सावधान गराइन्। “वयस्कहरू युवाले आशा जगाउँछन् मात्रै भन्छन्। तर मलाई तपाईंहरूको आशा चाहिएको छैन। म तपाईं आत्तिएको हेर्न चाहन्छु” उनले भनिन्।

उनी विमान चढ्दिनन्। मोनाकोको शाही परिवारबाट ६० फुट लामो डुङ्गा उधारो लिएर उनी अमेरिका आइन्। उनका सेल्फीले हजारौं फलोवर बने। त्यति मात्रै होइन जलवायु संकटकमा शंका गर्ने रूढिवादीहरूको आँखाको तारो पनि बनिन्।

प्रो ब्रेक्जिट लिभ अभियानका एक संस्थापक आर्रोन ब्याङ्कसले ट्वीट गरे,“सनकी नौका दुर्घटनाहरू अगष्टमै हुन्छन्।” “एक तरिकाले त्यो हास्यास्पद थियो,”  थुनबर्गले हाँसेर प्रतिक्रिया दिइन्। “मानौं उनीहरूसँग कुनै तर्क बाँकी छैन। त्यसैले उनीहरू मेरो वा मेरो रोग वा मेरो आवरणको खिल्ली उडाइरहेका छन्। एक तरिकाले यो सकारात्मक सङ्केत हो। केही भइरहेको छ। यो आन्दोलनबाट उनीहरू डराएका छन्। यसको अर्थ हो हामीले केहि परिवर्तन ल्याइरहेका छौं,”उनले भनिन्।

उनलाई “एस्पर्जर्स” भएको छ।  थुनबर्गकी आमा स्वीडेनकी प्रख्यात गायक हुन्। उनले ग्रेटाको स्थानलाई कुनै दैवी शक्ति भन्दै गीत लेखेकी छिन्।
“यसले मलाई भिन्न तरिकाले काम गर्न लगाउँछ। म भिन्न तरिकाले सोंच्छु,” उनले भनिन्, “मेरो रोगले मलाई एकाग्र हुन पक्कै सहयोग गरेको छ। तपाईंलाई केही विषयमा रूची भए तपाईं एकोहोरो पढिरहनुहुन्छ र ध्यानमग्न हुनुहुन्छ।”

खासमा इन्टरगभर्न्मेन्ट प्यानल अन क्लाइमेट चेञ्जका लामा प्रतिवेदन पढ्दा उनी अल्पसंख्यकमा पर्छिन्। तर उनको सनकलाई पनि प्रमाणित गर्नुपर्दा एउटा नेक नैराश्य बढ्छ। “जलवायु परिवर्तन रूचिकर भएन होइन,” आँखा घुमाउँदै  थुनबर्गले भनिन्,”यो जीवन र मृत्युको सवाल हो।”

मार्चमा दर्जनौं देशका १५ लाख बालबालिका कक्षाबाट बाहिर सडकमा निस्किए। अमेरिकामा मात्रै पाँच सयभन्दा धेरै स्थानमा हड्तालको योजना बनाइएको छ। फ्राइडेज फर फ्युचर आन्दोलनले यो संख्या सहजै दोब्बर बनाउनेछ। 

 थुनबर्ग विरोध, मुद्दा, सम्झौता र दबाब अभियानलाई महत्वपूर्ण औजार ठान्छिन्। “मेरो विचारमा हामीले थुप्रै सामाजिक उत्कर्षहरू देख्नेछौं किनभने सर्वसाधारण, मिडिया कम्पनी, नेताको भनाइ र उनीहरूको गराइबीच दूरी बढ्दो छ। यसले परिस्थितिलाई थप जटिल बनाएको छ,” उनले भनिन्,“हामी अझै दबाब दिनेछौं। निरन्तर दिनेछौं। विश्वका नेताहरूले जलवायु संकटलाई बेवास्ता गर्न पाउने छैनन्।”

प्रकाशित मिति: ०७:०९ बजे, मंगलबार, असोज ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्