किशोरीहरुको कला प्रदर्शनी काठमाडौंमा शुरु
काठमाडौं, असोज ६ : विभिन्न जिल्लाका किशोरीहरुले आफ्नो समस्या र मुद्दाहरुलाई चित्रण गर्दै तयार पारेको कलाहरुको काठमाडौंमा प्रदर्शनी शुरु भएको छ।&n....

काठमाडौं, असोज ६ : विभिन्न जिल्लाका किशोरीहरुले आफ्नो समस्या र मुद्दाहरुलाई चित्रण गर्दै तयार पारेको कलाहरुको काठमाडौंमा प्रदर्शनी शुरु भएको छ।
प्रदर्शनी असोज ५ देखि असोज ११ गतेसम्म काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा हुनेछ। प्रदर्शनीमा किशोरीले तयार पारेको १ सय ५० वटा प्रतिनिधित्वमूलक कलाहरुलाई राखिएको छ।
प्लान इन्टरनेशनल नेपाल र सिद्धार्थ आर्ट फाउन्डेसनको आयोजनामा यो प्रदर्शनी “आर्ट इज पावर” कार्यक्रम अन्तर्गत भएको हो। काठमाडौंस्थित फिनिस, फ्रेन्च, जर्मन दूतावासले यो कार्यक्रम प्रवद्र्धनमा साझेदारी तथा आर्टसम्वन्धि अन्य संस्थाहरुले किशोरीहरुको चासोलाई सरोकारवालामाझ पुर्याउन कलाहरु तयार पार्न संयोजन गरेका थिए।
यो प्रदर्शनीअघि जुम्ला, बाँके, मकवानपुर, सिन्धुली र सुनसरीमा कला कार्यशाला भएका थिए, जसले पिछडिएका समुदायका किशोरीहरुलाई उनीहरुको भावना कलाको माध्यमबाट व्यक्त गर्न, उनीहरुको आवाज नीति निर्मातासम्म पुर्याउन र असमानताविरुद्ध चेतना बढाउने मौका प्रदान गरेको थियो।
यसअघि सार्वजनिक रुपमा आफ्नो समस्या र मुद्धाबारे अभिव्यक्त गर्न मौका नपाएका ११ देखि १७ वर्ष उमेरका २३५ किशोरीहरुले गत भाद्र महिनामा आयोजित कार्यशालामा भाग लिएका थिए। कार्यशालामा सहभागी भएपछि उनीहरुले कलात्मक तरिकाबाट चित्र, कविता, गीत र शव्दहरुमार्फत आफ्नो घर, विद्यालय, समुदाय र वरपर आफूहरुले भोगिरहेका समस्याबारे अभिव्यक्ति राखेका हुन्।
कार्यशालापश्चात् बालिका र किशोरीहरुले आफ्नो कला सृजना गरेका थिए। ती कलाहरुलाई समुदाय तहमा गरिएको प्रदर्शनीको स्थानीय तहका जनप्रतिनिधि, सरकारी अधिकारी, अभिभावक, शिक्षक, नागरिक समाजका सदस्य, सञ्चारकर्मीले अवलोकन गरेका थिए।
यो प्रदर्शनी प्लान इन्टरनेशनलको विश्वव्यापी अभियान गल्र्स गेट इक्वेल अन्तर्गत भएको हा । गत वर्ष शुरु भएको यो अभियानले किशोरीका लागि समान शक्ति, स्वतन्त्रता र प्रतिनिधित्वको माग गरेको छ । यो अभियान नेपालमा गत मार्च ८ का दिन शुभारम्भ भएको थियो।











