छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नाैजनाको मृत्यु
काठमाडौं, फागुन १६ : झापा, धनकुटा, पाल्पा, पर्वत, दाङ, मोरङ र रूपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सावरी दुर्घटनामा परी नाैजनाको मृत्यु भएको छ। झापाकाे अर्जुनधारा...
काठमाडौं, फागुन १६ : झापा, धनकुटा, पाल्पा, पर्वत, दाङ, मोरङ र रूपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सावरी दुर्घटनामा परी नाैजनाको मृत्यु भएको छ।
झापाकाे अर्जुनधारा नगरपालिका-९ स्थित भित्री सडकमा को९प १७६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय राजेन्द्र थापाको आइतबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनकुटाकाे पाख्रिवास नगरपालिका-६ फलाटेस्थित भित्री सडकमा को२त ७११ नम्बरको ट्याक्टर ब्रेक फेल भई पल्टिएर आइतबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय बम बहादुर राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।
पाल्पाकाे रम्भा गाउँपालिका-१ फडीयार खोलास्थित सडकमा लु७प ५०४३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-१ असर्दी बस्ने १७ वर्षीय सन्दिप न्यौपानेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
पर्वतकाे कुश्मा नगरपालिका-८ परादीस्थित सडकमा बा१०च ४३७२ नम्बरको कार आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी १ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा कारमा सवार पुगलीबजार नगरपालिका-१ बस्ने ४ वर्षीय आरम्भ कोइरालाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका कारका चालक समेत ३ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरातर्फ पठाइएको छ।
दाङकाे तुलसीपुर उपमहानगरपालिका-१८ दुधरासस्थित सडकमा बा३ख ८६४३ नम्बरको हाईस र हाल नम्बर नखुलेको मोटरसाइकल एक आपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका पुरूषको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र हाईसमा सवार २ गरी ३ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ। हाईस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलको ट्याङ्की अचानक पड्किएर आगलागी समेत हुँदा दुवै सवारी साधन पूर्णरूपमा जलेर क्षति भएको छ। प्रहरीले दमकल तथा स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ।
यसैगरी दाङकाे तुलसीपुर उमहानगरपालिका-१८ डाँडागाउँस्थित सडकमा लु१च ६२८९ नम्बरको पिकअप र रा५प ९०६६ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही उपमहानगपालिका(१७ फोर्टीनाईन चोक बस्ने २५ वर्षीय तारा बहादुर केसीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी दाङकाे तुलसीपुर उपमहानगरपालिका-६ ओमशान्तिहल नजिक रा५प ४४९३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिद्युतको पोलमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-६ हात्तिखौवा बस्ने ३० वर्षीय मोहन सुनारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
मोरङकाे विराटनगर महानगरपालिका-३ स्थित सडकमा को१४प ९४५८ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बिजुलीको पोलमा आइतबार राति ठक्कर खाँदा स्कुटर चालक विराटनगर महानगरपालिका(३ डेरा गरी बस्ने सप्तरी घर भएका ३६ वर्षीय हरि भुजेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
रूपन्देही, तिलोत्तमा नगरपालिका-१३ स्थित भित्री सडकमा लु४५प ९९६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१४ टिकुलिगड बस्ने ४६ वर्षीय ऋषिराम पौडेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।












