शिवरात्रिका लागि १० उपसमिति गठन, सुरक्षा र स्वास्थ्यलाई प्राथमिकता
पशुपति दर्शनका लागि आउने भक्तजनको भीड व्यवस्थापनका लागि ५० भन्दा बढी संघसंस्थाबाट करिब ६ हजार स्वयंसेवक तथा स्वयंमसेविका परिचालन गरिने भएकाे छकाठमाडाैं, फागुन १६ : महाशिवरात्रिका लागि पशुपति मन्दिरमा सजावटदेखि व्यवस्थापनसम्मको तयारी सुरु भएको छ । महाशिवरात्रि पर्व व्यवस्थापन मूल समारोह समिति अन्तर्गत १० वटा उप–समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
‘हामीले महाशिवरात्रिकै लागि स्वास्थ्य सेवा व्यवस्थापन गर्न, साधुसन्तको धार्मिक कार्यक्रमको व्यवस्था गर्न, सरसफाइ व्यवस्थापन गर्न, मेला बजार व्यवस्थापन गर्न, भोजन आवास तथा भौतिक पूर्वाधार तयारी गर्न, तथ्यांक संकलन गर्न र स्वयंसेवक, सुरक्षा, प्रचारप्रसार गरी १० वटा उप–समिति गठन गरिसकेका छौँ,’ उनले भने, ‘ती सबै समितिले आ–आफ्नो क्षेत्रको जिम्मेवारी अनुसार कार्य गरिरहेका छन्।’
यसपालि सरसफाइसँगै सुरक्षालाई विशेष ध्यान दिइएको उनको भनाइ छ । ‘जिउधनसँग जोडिएको चोरी, लुटपाटलाई मात्र नभई यसपालि स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राखेका छौँ,’ उनी भन्छन्, ‘अहिलेसम्म कोभिड १९ को संक्रमण पूर्णतः नियन्त्रण भइसकेको छैन । त्यसैले मास्कको अनिवार्य प्रयोग गर्न र सकेसम्म स्यानिटाइजर पनि आफैँ बोकेर आउन भक्तजनलाई आग्रह गरेका छौँ ।’
शिवरात्रिका लागि पशुपति क्षेत्रमा साधुहरुको आगमन सुरु भइसकेको छ । अहिलेसम्म करिब तीन हजार पाँच सय साधु बाबा पशुपति परिसरमा आइसकेको उनी बताउँछन । ‘शिवरात्रिसम्म चार हजारको हाराहारी बाबा र १० लाखको हाराहारीमा भक्तजन पशुपति आउने अनुमान गरेका छौँ,’ उनले भने ।
पशुपति दर्शनका लागि आउने भक्तजनको भीड व्यवस्थापनका लागि ५० भन्दा बढी संघसंस्थाबाट करिब ६ हजार स्वयंसेवक तथा स्वयंमसेविका परिचालन गरिने भएकाे छ । साथै छिटो र सुरक्षित तरिकाले भक्तजनलाई पशुपति दर्शन गराउन तथा सुरक्षा प्रदान गर्न नेपाल प्रहरी, स्काउट, सशस्त्र प्रहरीलाई परिचालन गर्ने सहमति भइसकेको र नेपाली सेना, राष्ट्रिय सुरक्षा दलको सहयोगमा बाटो सुधार गरिरहेको प्रवक्ता अधिकारीको भनाइ छ ।
उनका अनुसार, अहिले पशुपति परिसरको रंगरोगन, सरसफाइ तथा सजावट कार्य भइरहेको छ । फूल र बत्ती आयातको क्रम पनि जारी छ । ‘दाताको सहयोगमा मन्दिरबाहिर मूल ढोका बनाउने र वनकाली तर्फको चोक, गौशाला लगायतमा फूल र बत्तीको सजावट गर्दै छौँ,’ उनले भने ‘रातिदेखि नै दर्शनार्थीको लाइन लाग्ने र शिवरात्रिको बेलुका पनि भजन आरती हुने भएकाले त्यो समयमा सहज होस भनेर बत्ती जडान गर्छौं ।’
पशुपति क्षेत्र विकास कोषको वार्षिक बजेट कार्यक्रमभित्र महाशिवरात्रिका लागि ५० लाख बजेट छुट्ट्याइएको छ । आफ्नो बजेट र दाताको सहयोग मिलाएर करिब एक करोड लागत अनुमान गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
नेपाल प्रहरीले पनि सुरक्षाकर्मी परिचालनको तयारी सुरु भइसकेको र व्यवस्थापनका लागि केही समय लाग्ने जानकारी दिएको छ । ‘महाशिवरात्रिका लागि सुरक्षाकर्मी परिचालनको तयारी भइरहेको छ । तर तत्काल कति सुरक्षाकर्मी परिचालन गर्ने भन्ने टुंगो भइसकेको छैन,’ नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक विष्णुकुमार केसीले भने ।