ओली सरकारको कामको हिसाब जनताले राखेका छन् : पौडेल
प्यूठान, असोज ६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकारका कामको हिसाब क....
प्यूठान, असोज ६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकारका कामको हिसाब किताव जनताले गरेको बताएका छन्।
राष्ट्रिय जागरण अभियान अन्तर्गत सोमबार प्यूठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कम्युनिष्टहरु चिल्ला कुरा गरेर जनतालाई क्षणिक प्रभावमा परेको बताए। ‘हिजो क्रान्तिकारी कुरा गर्ने कम्युनिष्ट नेताहरुको व्यवहार अहिले के भएको छ। कम्युनिष्टहरु झुटा कुरा गर्न सिपालु छन्,’ उनले भने।
पौडेलले दुई तिहाइको जनमत निरकुंश शासन चलाउनका लागि प्रयोग गर्न लागिएको आरोप लगाए।
‘नेताहरुलाई प्रश्न गर्न नपाउने कानून ल्याउन खोजिँदै छ। मानवअधिकार आयोगको अधिकार कटौती गरिएको छ। हरेक संवैधानिक निकायलाई नियन्त्रण गर्न खोजिएको छ। त्यो संविधानको विपरीत हो,’ पौडेलले भने।
उनले सरकारले दुई तिहाइको दम्भ देखाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्यायालयलाई तर्साउन खोजेको आरोप लगाए। ‘जनताले दिएको दुई तिहाइको मतलाई निरकुंश शासन चलाउन प्रयोग गरिएको छ,’उनले भने।






