आरुघाट र खहरे क्षेत्रको मुआब्जा निर्धारण गर्न नेकपाको माग
काठमाडौं, असोज ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलाशययुक्त आयोजनाको डु....

काठमाडौं, असोज ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलाशययुक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट र खहरे क्षेत्रको मुआब्जा निर्धारण गर्न माग गरेको छ।
पार्टी कार्यालय पाटेचौरमा बसेको जिल्ला पार्टी सचिवालय बैठकले मुआब्जा निर्धारण गर्न बाँकी रहेका क्षेत्रको तत्काल मुअब्जा तोक्न माग गरेको पार्टीका जिल्ला अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए। ‘डुबानमा पर्ने गोरखा र धादिङतर्फका बजार क्षेत्रको अझै मुआब्जा निर्धारण हुन सकेको छैन’, अध्यक्ष थापाले भने,‘पार्टी सचिवालयको बैठकले नै छिटो मुआब्जा निर्धारणका लागि सरकारसँग माग गरेका छौँ।’
बैठकले लगत सङ्कलनको काम सकेको क्षेत्रमा घरगोठको बिरुवाको मुआब्जा निर्धारण गरी तत्काल वितरणको काम अघि बढाउन सरकारसँग आग्रह गरेको उनले बताए।
आरुघाट खहरे क्षेत्रको मुअब्जा निर्धारण हुन नसक्दा प्रभावित क्षेत्रका जनताको असन्तुष्टि बढ्दै गएको भन्दै उनले छिटोभन्दा छिटो उचित मुआब्जा निर्धारण हुनुपर्नेमा पार्टीको जोड रहेको बताए। ‘त्यस क्षेत्रको अहिलको चलनचल्तीको मूल्य र सरकारी ऐन कानूनलाई टेकेर मुआब्जा निर्धारण गर्नु उचित हुन्छ’, उनले भने,‘जनतालाई लामो समय अन्यौलमा राख्नु हुँदैन।’
बैठकले जलस्रोत तथा ऊर्जा मन्त्रालय एवं मुआब्जा निर्धारण समिति आयोजना एकाइलाई मुअब्जा निर्धारण गरी आयोजना निर्माणको कामलाई अघि बढाउन आग्रह गरेको अध्यक्ष थापाको भनाइ छ।
त्यस्तै, बैठकले नेपालीको ठूला चाडपर्व नजिकिएकाले दशैँ, तिहार, छठ तथा इद लगायतका पर्वका अवसरमा यातायात सुविधा पुर्याउन सडक मर्मत तथा सुधार एवं सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।











