Kathmandu Press

चिनियाँ कम्पनीले पायो बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी 

काठमाडौं, असोज ६ : काठमाडौं बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’ले पाएको छ।

सोमबार बस....

चिनियाँ कम्पनीले पायो बाहिरी चक्रपथ निर्माणको जिम्मेवारी 
फाइल

काठमाडौं, असोज ६ : काठमाडौं बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’ले पाएको छ।

सोमबार बसेको लगानी बोर्डको ४० औँ बैठकले काठमाडौं बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको हो। बैठकले प्रस्ताव पेश गरी सङ्क्षिप्त सूचीकरण (सर्ट लिष्ट)मा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो।

बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न ‘जुरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ। दुवै परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेश गर्नुपर्ने छ।

बैठकले पश्चिम सेती तथा एसआर ६ संयुक्त जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेश गर्नेमध्ये सङ्क्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलगअलग समिति गठन गरेको छ। 

यातायातबारे एकीकृत सुझाव दिन निर्देशन

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन र सुधारबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकको सूचीसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिए।  

प्रधानमन्त्री ओलीले भने,‘सबै काम समयमा योजनाबद्धरुपमा सम्पन्न हुनुपर्छ, मन्त्रालय र निकायले एकार्कामा समन्वय गर्नुपर्छ, त्यसका लागि चाँडो प्रतिवेदन प्राप्त होस्।’ 

बैठकमा बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले अघिल्लो बैठकका निर्णय र प्रगतिबारे प्रस्तुति गरेका थिए।
 

प्रकाशित मिति: १५:४२ बजे, सोमबार, असोज ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्