नाम त अहिले कम्युनिष्ट नै छ, के साँच्चै कम्युनिष्ट नै छौँ त? : प्रचण्ड
काठमाडौं, असोज ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहाना प्रधान कम्युनिष्ट र राजनीतिक आन्दोलनमा अग्रण....

काठमाडौं, असोज ६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहाना प्रधान कम्युनिष्ट र राजनीतिक आन्दोलनमा अग्रणी नेता रहेको बताएका छन्।
पाँचौँ सहाना स्मृति दिवसका अवसरमा सहाना प्रधान प्रतिष्ठानले सोमबार आयोजना गरेको कार्यक्रममा उनले प्रधानले गरेका योगदानका धेरै पक्ष रहेको बताए।
‘समग्रमा उहाँ नेपाली कम्युनिष्ट आन्दोलन र राजनीतिक आन्दोलनको एउटा अग्रणी नेता हुनुहुन्थो,’ उनले भने, ‘उहाँ नेपाली समाजको नेपाली रुपान्तरण र राजनीतिकलाई नेतृत्व गर्ने अगुवा नेताको रुपमा रहनुहुन्थ्यो।’
सहाना प्रधानजस्तो राजनीतिज्ञ, राणाशाही र तानाशाहीका विरुद्ध जीवनभर धेरै खालका अप्ठ्याराको सामन गरेर सङ्घर्ष गर्ने नेतालाई सम्मान गर्दा आदर्शका कुरा भुल्न नहुने उनको भनाइ थियो। उनले पुष्पलालले नेपाली समाज र माक्सवादको राम्रो विश्लेषण गरेर पार्टी स्थापना गरी अगुवाइ गर्दै स्थापना गरेको कम्युनिष्ट पार्टीबाट नै नेपालमा क्रान्ति र परिवर्तनको प्रक्रियालाई शुरु गरिएको उल्लेख गरे।
पुष्पलाल र सहानालगायत पुराना पिँढीका धेरै नेताले त्याग, तपस्या, निष्ठा, मिहिनेतको जीवन व्यतित गरे पनि व्यक्तिगत पद प्रतिष्ठा, फाइदाका निम्ति क्रान्तिलाई प्रयोग नगरेका प्रचण्डले बताए।
‘नाम त अहिले कम्युनिष्ट नै छ, के साँच्चै कम्युनिष्ट नै छौँ त अहिले? भन्न त हामीले समाजवादको यात्रा शुरु गर्ने भनेको छौ, के हामीले समाजवादको यात्राका निम्ति योद्धा जस्तै छौ त हामी? या हामी बिस्तारै काङ्ग्रेस जस्ता र हिजोका निरङ्कुशतावादी जस्तै पद र प्रतिष्ठाका निम्ति लागेको छौं,’ प्रचण्डले भने।
हिजोका तानाशाहले पनि विकासको मूल फुटाउने कुरा गरेको उल्लेख गर्दै प्रचण्डले भने, ‘भन्ने ठूलो कुरा होइन, ठूलो कुरा गर्ने भन्ने हो, हामीले के गर्ने भन्ने कुराको अर्थ र महत्व छ, हामीले के भन्छौं भन्ने त्यति अर्थ छैन।’
कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सहाना प्रधान कम्युनिष्ट आन्दोलन, महिला मुक्ति आन्दोलन, महिलाले पनि पढ्न पाउनुपर्दछ भनेर सक्रिय भूमिका निर्वाह गरेको बताए। उनले पुष्पलालको निधनपछि सहानाले नै पार्टीको अगुवाइ गरेको भन्दै सहानाको योगदान अमर र अजर रहेको उल्लेख गरे। रासस











