मर्यादित महिनावारी अधिकारका लागि एक जुट हुँदै सप्तरीका किशोरी
काठमाडौं, फागुन १५ : सप्तरीमा महिला तथा किशोरीको मर्यादित महिनावरी अधिकारका बारेमा एक दिने कार्यशाला सम्पन्न भएको छ। सदरमुकाम राजविराजमा जिल्लाका डाक्नेश्वरी नगरपालिका, राजगढ...
काठमाडौं, फागुन १५ : सप्तरीमा महिला तथा किशोरीको मर्यादित महिनावरी अधिकारका बारेमा एक दिने कार्यशाला सम्पन्न भएको छ। सदरमुकाम राजविराजमा जिल्लाका डाक्नेश्वरी नगरपालिका, राजगढ तथा विष्णुपुर गाउँपालिका ३२ जना अगुवा किशोरीहरु सहभागितामा कार्यशाला सम्पन्न भएको हो। कार्यशालामा किशोरीहरुले आफ्नो अधिकार सुनिश्चितताका लागी संगठित भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
नेपालको संविधानले हरेक नेपाली नागरिकलाई स्वच्छ वातारणामा बाँच्न पाउने लगायत स्वास्थ्य सम्बन्धी हकको प्रत्याभुती गरेको, मुलुकी संहिता २०७४ ले पनि महिनावारी सम्बन्धि हुने सबै किसिमका छुवाछुत वा भेदभाव अमानविय व्यवहारहरूलाई दण्डनीय भनेको छ। उक्त पैरवी कार्यशालामा उपस्थित सहभागीहरुले समाजमा विद्यमान रीतिरिवाज र कुसंस्कार जन्यकुराहरुलाई केलाएर हेर्दा अझै पनि नेपालमा विभिन्न सम्प्रदायका ४० वटा भन्दा बढी महिनावारीसंग जोडिएका कु–प्रथाहरु अभ्यासमा रहेको र हरेक महिनावारी हुनेले सम्मान महसुस गर्ने वातावरण नपाएको, विद्यालय, समुदाय तथा सार्वजनीक स्थलहरुमा महिलामैत्री खानेपानी, सरसफाइ तथा स्वच्छताको सुविधा उपलब्ध नहुँदा अझै पनि महिला तथा किशोरीहरुले उत्पीडित र अपमानित महसुस हुने गरेको भन्दै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएका छन् ।
सहभागीहरुले संविधान, कानुन र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धताहरुले समेत महिला तथा किशोरीको मर्यादित महिनावारीको अधिकारलाई आधारभुत मानव अधिकारका रुपमा सुनिश्चितता गरेको बारे छलफल गर्दै नेपालमा भने यस सम्बन्धमा पर्याप्त कानून तथा भएका कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा यस सम्बन्धी समस्याहरु समाधान हुननसकेको विचार व्यक्त गरेका छन्। उनीहरुले राष्ट्रिय मर्यादित महिनावारी नीति २०७५ को मस्यौदालाई तुरन्त कानूनको रुपमा पास गर्न, विद्यालयहरुमा निःशूल्क प्याडको उपलब्धता, प्रयोग गरेको प्याडको उचित व्यवस्थापन, किशोरीहरुमा मनोसामाजि परामर्श जस्ता सुविधामा राज्य र स्थानिय सरोकारवाला निकायहरुले अविलम्ब कदम चाल्नु पर्ने तर्फ आवाज उठाएका छन् ।
राजगढमा कक्षा १० अध्ययनरत छात्रा प्रियंका ठाकुरले विद्यालयमा पर्याप्त सुरक्षित र सफा पानीको अभाव, महिला तथा किशोरीमैत्री शौचालय र भएका सौचालयहरुमा पनि प्रयोग गरेको प्याड व्यवस्थापन गर्ने सुविधाको अभाव भएका कारण महिनावारी हुँदा घरमै बस्नुपर्ने वाध्यात्मक अवस्था रहेको बताएकी छन्।
उनले आफूमा ज्ञानहूँदा हुँदै पनी आकस्मिक रुपमा महिनावारी भएमा र प्याड प्रयोग गरेमा त्यसको व्यवस्थापन गर्ने उचित स्थानको अभावमा प्लाष्टिकमा पोकोपारी विद्यालयबाट फर्कदा झाडी, पोखरी वा जुनसुकै एकान्त पर्ने खुला स्थानमा अव्यवस्थित रुपमा फाल्नु पर्नाले आफूलाई असहज हुने गरेको अनुभव सुनाइन् ।
त्यस्तै डाक्नेश्वरी–२ मा कक्षा ९ पढ्दै गरेकी छात्रा मनिषाकुमारी प्रणामीले विद्यालयहरुमा प्याड पाउन थाले पनी आवश्यक परेको समयमा सहज रुपमा उपलब्ध नहुनु, खुलेर शिक्षकहरुसँग माग्न नसक्नु र प्रयोग गरेको प्याडको उचित व्यवस्थापन गर्ने स्थान नहुँदा एक पटक प्रयोग गरेको प्याड नै लामो समयसम्म प्रयोग गर्न वाध्य हुनुपरेको बताइन्। यसबाट महिनावारीको समयामा आफूमा आत्माविश्वासको कमिहुने, पढाइमा ध्यान नजाने र दिग्दारी लाग्ने समेत बताइन्।
कार्यक्रममा सहभागी सबैजसो किशोरीहरुले आफ्नो महिनावारीको समयमा विद्यालयमा त्यती सहजरुपमा अध्ययन गर्न नपाएको, मानसिकरुपमा असहज भएको, आत्माविश्वासमा कमि आएको, साथी तथा शिक्षकहरुको सामुन्ने धक लाग्ने गरेको जस्ता अनुभवहरु सुनाएका थिए ।
मर्यादित महिनावारी एक व्यक्तिगत समस्यामात्र नभएर यो एक सामुहिक र मानव अधिकारमा आधारित नीतिगत, संरचनात्मक र व्यवस्थापकिय विषय भएकोले किशोरीहरुले सबै सरोकारवाला निकाहरुबाट उच्च प्राथमिकताका साथ आवश्यक नीति नियम सहित उचित वातावरण बनाउन माग गरेका छन् ।
गठन भयो 'किशोरी शक्ति समूह'
कार्यशालामा सहभागी अगुवा किशोरीहरुले यस विषयमा निरन्तर पैरवी गर्ने, सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउने, आगामीदिनमा अझ संगठित भइ कार्य गर्ने उद्देश्यले भेलाबाट किशोरी शक्ति समूह, सप्तरी नेपाल नामक संगठन निर्माण गरेर कार्य गर्ने निर्णय गरेका छन् ।

मनिसा कुमारी प्रणामी संयोजक, प्रियंका ठाकुर सह–संयोजक, जेनीसा कुमारी चौधरी, सञ्चार संयोजक र रेखा कुमारी यादव, सञ्चार सह–संयोजक रहने गरी किशोरी शक्ति समूह गठन गरिएको छ । उक्त समूहले हरेक तीनतीन महिनामा जिल्ला स्तरमा कार्य गर्ने र अन्य समयमा आआफ्नो स्थानबाट एकल रुपमा, साथीशिक्षकका रुपमा वा समूहमा मर्यादित महिनावारीको अधिकार प्राप्तीका लागी निरन्तर वहस तथा वकालत गर्ने, महिला तथा किशोरी मैत्री खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा व्यवस्थापनका लागी पहल गर्ने जस्ता कार्ययोजना बनाएको छ ।
हाललाई जिल्लाका तीनवटा पालीकाबाट प्रतिनिधिहरु छनौट भएर संजाल बनाए पनि निकट भविष्यमा नै यसलाई जिल्ला व्यापी संजालका रुपमा विकास गर्ने गरि अन्य पालिकाका प्रतिनिधिहरुलाई समेत समेटेर अगाडी बढ्ने योजना रहेको नवगठित समूहकी संयोजक मनिसा कुमारी प्रमाणीले जानकारी दिइन् ।
सप्तरी जिल्लाका डाक्नेश्वरी, राजगढ तथा विष्णुपुर गाँऊपालीकामा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा कार्यरत वेल्टहंगरहिल्फे तथा स्थानीय साझेदार संस्था महुली सामुदायिक विकास केन्दले उक्त एक दिने जिल्ला भेला तथा पैरवी कार्यशालाको सहजीकरण गरेको थियो ।
वेल्टहंगरहिल्फेका खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना संयोजक पदम लम्सालले यस प्रकारको प्रयासले बालिका तथा किशोरीहरुमा आत्माविश्वासको विकास हुने, आफ्नो अधिकार प्राप्तीका लागी सरोकारवाला निकायहरुसँग माग दावी गर्न सक्ने वातावरण बन्ने तथा मुख्यरुपमा ‘जसको सवाल उसको नेतृत्व’को अवधारणा अनुसार किशोरीहरुले महिला तथा किशोरीमैत्री समावेशी खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाका साथै आफ्नो प्रजनन स्वास्थ्य तथा अधिकारबारे समेत साथीसमूह बीच खुलेर कुरा गर्ने, मर्यादित महिनावारी अधिकारकाको सुनिश्चितताको लागी स्थानीय तहमा नीति निर्माण तथा त्यसको कार्यान्वयनमा दबाब सिर्जना गर्ने कुरामा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)