Kathmandu Press

एक खेलअवागै भारतले जित्यो श्रीलंकाविरुद्धको टि-२० सिरिज

एक खेलअवागै भारतले जित्यो श्रीलंकाविरुद्धको टि-२० सिरिज

काठमाडौं, फागुन १५ : श्रीलंकाविरुद्धको ३ खेलको टि २० सिरिज भारतले एक खेल बाँकी छँदै जितेको छ। धर्मशालामा शनिबार राति भएको दोस्रो खेलमा ७ विकेटको जित निकाल्दै भारतले एक खेलअघि नै सिरिज जितेको हो ।

सिरिजको पहिलो खेल भारतले ६२ रनले जितेको थियो । तेस्रो खेल आइतबार धर्मशालामै हुने छ।

धर्मशालामा पहिला ब्याटिङ गर्दै श्रीलंकाले दिएको १८४ रनको लक्ष्य भारतले १७.१ ओभरमा ३ विकेटको गुमाउँदै भेट्टायो । दुवै ओपनरलाई सस्तैमा गुमाएको भारतका लागि श्रेयस अय्यर, सन्जु सामसन र रविन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गरे।

अय्यरले नआउट ७४ रन बनाए। उनले ४४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै विस्फोटक इनिङ खेलेका जडेजाले १८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बनाउँदा सामसनले २५ बलमा २ चौकार ३ छक्का प्रहार गर्दै ३९ रन बनाए। श्रीलंकाका लहिरु कुमारले २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८३ रन बनाएको थियो। उसका पाथुम निसन्काले ५३ बलमा ११ चौका प्रहार गर्दै सर्वाधिक ७५ रन बनाए।

यस्तै, कप्तान दसुन सनकाले १९ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४७ रन बनाउँदा दनुस्का गुणतिलकाले ३९ रनको योगदान दिए। भारतका भुवनेश्वर कुमार, जस्प्रित बुमाराह, हर्षल पटेल, युजभेन्द्र चलह र रविन्द्र जडेजाले समान १ विकेट लिए।

प्रकाशित मिति: ०८:०२ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्