Kathmandu Press

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा सफाइ

काठमाडाैं, फागुन १४ : महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको वाग्मती किनार एवं सम्पदा क्षेत्रमा सफाइ गरिएको छ। पशुपति क्षेत्रको आर्यघाट, वाग्मती किनार एव...
महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा सफाइ

काठमाडाैं, फागुन १४ : महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको वाग्मती किनार एवं सम्पदा क्षेत्रमा सफाइ गरिएको छ। पशुपति क्षेत्रको आर्यघाट, वाग्मती किनार एव हंसमण्डप वरपर सफाइ गरिएको हो। यही फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ। वाग्मती सफाइ महाअभियानको ४५९औँ हप्तामा पशुपति क्षेत्रमा सफाइ गरी महाशिवरात्रिका लागि तयारी गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ।
 
सफाइमा प्रदेशसभा सदस्य केशव स्थापित, पूर्वमुख्य सचिव एवं अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नायिका करिश्मा केसी मानन्धर, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, काठमाडौँ महानगरपालिका वातावरण विभागका कर्मचारी, पशुपति क्षेत्र विकास कोषका कर्मचारी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी र वागमती सफाइ अभियानकर्मीको सक्रियता थियो।  

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा सफाइ

Hardik ivf

यसैगरी महाशिवरात्रिको तयारीकै लागि गोकर्णेश्वर महादेव मन्दिरलाई केन्द्रित गरेर सफाई गरिएको छ। गोकर्णेरश्वर महादेव मन्दिरमा पनि महाशिवरात्रिलगायत पर्वमा भक्तजनको भीड लाग्ने भएकाले तीर्थयात्रीको सुविधाका लागि सफाइ गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए।

पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा गरिने भएकाले पनि महाशिवरात्रिमा पनि यहाँ भक्तजनको भीड लाग्ने गरेको छ। वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा मुहानदेखि नै  वाग्मती सफाइ गर्दै आइएकोे छ। यस क्षेत्रको सफाइमा कुहिने र नकुहिने फोहर वर्गीकरण गरिएको छ। कुहिने फोहर जमिन गाडिने र नकुहिने फोहरमात्र व्यवस्थापन गर्ने गरिएको छ। यस क्षेत्रको सफाइ ‘जिरोवेस्ट’ प्रणालीमा हुँदै आएको छ।

यसैगरी मनोहरा सफाइ अभियानको २५८औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित जडीबुटी पुल छेउमा सफाइ गरिएको छ। साठी अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले जानकारी दिए।
 
यसैगरी आज काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भेग, चक्रपथका उत्तरी र पश्चिमी खण्ड, वाग्मतीका विभिन्न खण्ड, ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ। वाग्मती सफाइ महाअभियानबाट प्रेरित भई यसका सहायक नदीमा सफाइ अभियान सुरु भएको हो। हाल काठमाडौँ उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको छ। यसैगरी महाअभियानबाट प्रेरित भएर काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सम्पदास्थलमा सफाइ भइरहेको छ। काठमाडौँ उपत्यका बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ। विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियान चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता विपत्तिका बेला पनि रोकिएको छैन।

प्रकाशित मिति: १८:३२ बजे, शनिबार, फागुन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्