Kathmandu Press

सुरज वैद्यले काम गर्न नसकेपछि बच्चुनारायणलाई सीईओ बनाउने तयारी 

काठमाडौं, असोज ६ : ‘भ्रमण वर्ष– २०२०’ को संयोजक सुरज वैद्यले काम गर्न नसकेपछि सरकारले  प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियु....

 सुरज वैद्यले काम गर्न नसकेपछि बच्चुनारायणलाई सीईओ बनाउने तयारी 

काठमाडौं, असोज ६ : ‘भ्रमण वर्ष– २०२०’ को संयोजक सुरज वैद्यले काम गर्न नसकेपछि सरकारले  प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने तयारी गरेको छ। 

वैद्यले काम गर्न नसकेपछि सरकारले पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठलाई सिईओ नियुक्त गर्न लागेको हो। वैद्यले काम गर्न नसकेको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्षका लागि पर्यटन व्यवसायी श्रेष्ठलाई सीईओ नियुक्तिको प्रक्रिया अघि बढाएका हुन्।

वैद्यलाई संयोजकबाट नहटाएसम्म भ्रमण वर्ष सफल पार्न पर्यटन व्यवसायीले सहयोग नगर्र्ने जनाउ दिएपछि मन्त्री भट्टराईले मध्यमार्गी बाटो अपनाउन लागेका हुन्। मन्त्रालय स्रोतका अनुसार भ्रमण वर्षको कार्यविधिले सबै अधिकार संयोजकलाई दिएकाले सीईओ नियुक्ति कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।

‘मन्त्रीज्यूसँग सीईओ नियुक्त गर्ने सहमति भएको हो।  सायद केही दिनमा मलाई नियुक्ति दिनुहुन्छ होला,’ श्रेष्ठले काठमाडौंप्रेससँग भने। वैद्यबाट भ्रमण वर्षको काम द्रूत गतिमा हुन नसकेकाले फाष्ट ट्रयाकबाट काम गर्न खोजिएको श्रेष्ठले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले  वैद्यलाई भ्रमण वर्षको संयोजक बनाएका थिए। संयोजकमा वैद्य नियुक्त भएसँगै लामो समय पर्यटन क्षेत्रमा काम गर्दै आएका व्यवसायीहरुले त्यतिबेलै विरोध जनाएका थिए। वैद्यले भ्रमण वर्ष २०२० को सचिवालयको बैठक समेत राख्न नसकेको आरोप लाग्दै आएको छ। 

२० लाख पर्यटक भित्र्याउने अभियानका साथ भ्रणम वर्ष २०२० को घोषणा गत वर्ष नै गरिएको थियो। तर, सन् २०२० सुरु हुन केही महिना मात्रै बाँकी छँदा समेत पर्यटन प्रवद्र्धन र प्रचारको कामले गति लिन नसकेपछि वैद्यको आलोचना हुँदै आएको छ।

‘वैद्यजी महिनामा १५ दिन विदेश जानु हुन्छ तर भ्रमण वर्षका लागि नभएर आफ्नो कामका लागि कसरी भ्रमण वर्ष सफल हुन्छ,’ मन्त्रालयका एक अधिकारीले भने।
 

प्रकाशित मिति: १३:३३ बजे, सोमबार, असोज ६, २०७६