सगरमाथा आधार शिविरमा महिलाहरुले पदयात्रा गर्ने

काठमाडौं, फागुन १४ : जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा आधार शिविरमा विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिका खेलेका महिलाहरुले पदयात्रा गर्ने भएका छन्।
आगामी मार्च ८ तारिख अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ भन्ने नारासाथ विभिन्न विधाका प्रतिष्ठित ४० महिलाले कालापत्थरसम्म झण्डै १३ दिनको पदयात्रा गर्न लागेका हुन्।
त्यसका लागि नेपाली टोली सोमबार काठमाडौबाट प्रस्थान गर्नेछन्। ‘साथसाथै’ नामक संस्थाको संयोजनमा हुन लागेको सो पदयात्राको मुख्य उद्देश्य हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारणले परेको असर विश्वसामु उजागर गर्न र त्यसले महिलामा उत्पन्न गरेको समस्याको न्यायका लागि वकालत गर्ने रहेको संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन्।
समूहले कालापत्थरमा विशेष कार्यक्रम गर्ने र त्यहीँबाट जलवायु परिवर्तनका असरले महिलामा पारेका असरको उजागर गर्ने तथा त्यस्ता मुद्दाको राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा ध्यानाकर्षण गराइने उनले बताए।
त्यस्तै इलाइट एक्पेडका प्रवन्ध निर्देशक मिग्मा डेभिड शेर्पाले पदयात्राका क्रममा धेरै सिक्ने अवसर पाइने र आफुहरुको सहयोग हुने बताए।
स्थानीय महिलासँग सहकार्य गर्ने र कालापत्थरको उचाइबाट जलवायु परिवर्तन प्रभावित महिलाको आवाज उठाएर विश्वलाई सन्देश दिने अयिभानको उद्देश्य रहेको साथसाथै संस्थाले जनाएको छ।
हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भएपनि बढ्दो तापमान र जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको छ। यस विषयलाई पनि विश्वको ध्यानाकर्षण गराउने महिला पदयात्रा अभियानको उद्देश्य रहेको बताइएको छ।












