भन्सार छलेर लैजान लागेको सुनका सिक्रीसहित पक्राउ
काठमाडौं, फागुन १४ : भन्सार छलेर लैजान लागेको सुनका सिक्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टेनल गेटबाट शुक्रबार बिहान एकजना पक्राउ परेका छन्।अवैध रूपमा लुकाई...
काठमाडौं, फागुन १४ : भन्सार छलेर लैजान लागेको सुनका सिक्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टेनल गेटबाट शुक्रबार बिहान एकजना पक्राउ परेका छन्।
अवैध रूपमा लुकाईछिपाई भन्सार छली लैजान लागेको १ हजार १ सय ६५ ग्राम तौल भएको सुनको १० थान सिक्री सहित सुनसरी ईटहरी उपमहानगरपालिका-१६ लविपुर घर भएका ३४ वर्षीय कमल घिमिरेलाई प्रहरीले पक्राउ गरेको हाे।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट नेपाल आएका घिमिरेलाई जाँच गर्दा उक्त सिक्री लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नायब सुब्बा लक्ष्मण गुरागाईले अध्यागमन एरियामा रहेको शौचालयमा गई कमल घिमिरेले ल्याएको सुनका सिक्रीहरु लिई भन्सार चेकजाँच क्षेत्र पास गराई पुनः साेही क्षेत्रको शौचालयमा गई फिर्ता दिएको खुल्न आएपछि गुरागाईंसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।
बरामद सुनको सिक्री सहित दुवै जनालाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको छ।












