पर्यटन पुनरुत्थानका लागि जलयात्रा
धादिङ, फागुन १४ : कोरोना प्रभावित पर्यटनको पुनरुत्थानको उद्देश्यका साथ पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा धादिङको विशालटारस्थित मालिंगादेखि चरौदीसम्म जलयात्रा गराइएको छ।संघआबद्ध...
धादिङ, फागुन १४ : कोरोना प्रभावित पर्यटनको पुनरुत्थानको उद्देश्यका साथ पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा धादिङको विशालटारस्थित मालिंगादेखि चरौदीसम्म जलयात्रा गराइएको छ।
संघआबद्ध ४० जना पर्यटन व्यवसायी सम्मिलित झण्डै १२ किरोमिटर दूरीको उक्त जलयात्रा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन र बूढीगण्डकी हाइवे रेष्टुरेन्टको सहयोगमा गरिएको सङ्घका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए।
कोरोनाका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्ने आवश्यकतालाई दृष्टिगत गर्दै जलयात्रा गराइएको उनले बताए।
'कोरोनाले पर्यटकीय गतिविधि ठप्प हुँदा व्यवसायीमा समेत निराशा छाएको छ,' उनले भने, 'व्यवसायीलाई थप उत्साहित एवं अभिप्रेरित गर्दै पर्यटकीय गतिविधि बढ्न थालेको सङ्केत दिन पनि हामीले जलयात्रा आयोजना गरेका हौं।'
कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउन पर्यटन सम्बद्ध सबै सङ्घसंस्थाको सक्रियता अपरिहार्य भएको उनले बताए। संघको आयोजनामा विगतका वर्षमा पनि नवलपुर क्षेत्रका साथै सुपा देउराली, स्वर्गद्वारीआदि स्थानको धार्मिक पर्यटन प्रवर्धनसँगै विभिन्न पर्यटन लक्षित तालिम, अन्तरक्रिया गरिँदै आइएको छ।












