हलेसीमा तीन वर्षमा भेटीबाटै दुई करोड संकलन
खोटाङ, फागुन १४ प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा एक करोड ९२ लाख ३७ हजार ४ सय ८८ रुपैयाँ आम्दानी भएको...
खोटाङ, फागुन १४ प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा एक करोड ९२ लाख ३७ हजार ४ सय ८८ रुपैयाँ आम्दानी भएको छ । त्यस्तै एक करोड १५ लाख ३१ हजार ५० रुपैयाँ खर्च भएको छ।
हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको संगमस्थल हलेसी आउने दर्शनार्थीबाट आर्थिक वर्ष २०७५÷०७६ मा ८७ लाख १९ हजार २ सय १५ रुपैयाँ आम्दानी भएको थियो भने ४२ लाख ४२ हजार ३ सय ५० रुपैयाँ खर्च भएको थियो ।
यस्तै, आव २०७६÷०७८ मा ५३ लाख ८९ हजार ८ सय ६९ रुपैयाँ आम्दानी हुँदा ४० लाख ६२ हजार ५ सय २१ रुपैयाँ खर्च भएको बताइएको छ। यस्तै, आव २०७७÷०७८ मा ५१ लाख २८ हजार ४ सय ४ रुपैयाँ आम्दानी र ४२ लाख २६ हजार १ सय ७९ रुपैयाँ खर्च भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले दिए।
भेटीबापत जम्मा भएको रकम खर्च कटाएर ७७ लाख छ हजार ४ सय ३८ रुपैयाँ हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा राखिएको उनले बताए। हलेसी मन्दिरमा आउने विदेशी दर्शनार्थीले चढाएका विदेशी मुद्रा तथा स्वदेश र विदेशका दर्शनार्थीले चढाएका सुनचाँदीका गरगहनालगायतका सामग्री भने हालसम्म सुरक्षित राखिएको राईले जानकारी दिए।
मन्दिरबाट संकलन भएको भेटीबाट मन्दिर वरिपरि, दिव्यध्वनि, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रङ्गरोगन, बसाहा थान धाराको ढल निकास, भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोगलगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले बताए।
प्राकृतिकरुपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा भाकल तथा दर्शन गर्न आउनेले दान गर्दै आएका छन् । हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलंका, अमेरिका, दक्षिण कोरियालगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकनकर्ता आउने गरेका छन् । रासस












