इलाममा डायलासिस मेसिन चलाउन पहल
इलाम, फागुन १४ : ‘इलामका सहयोगीदाताहरु’ संस्थाले इलाम अस्पतालमा रहेको डायलासिस मेशिन चलाउन पहल थालेको छ।मिर्गौलाका बिरामीको उपचारका लागि आवश्यक मेसिन धरानको रोटरी...
इलाम, फागुन १४ : ‘इलामका सहयोगीदाताहरु’ संस्थाले इलाम अस्पतालमा रहेको डायलासिस मेशिन चलाउन पहल थालेको छ।
मिर्गौलाका बिरामीको उपचारका लागि आवश्यक मेसिन धरानको रोटरी क्लबमार्फत एक वर्षअघि नै उपलब्ध भएको थियो। तर, दक्ष जनशक्ति र आर्थिक अभावमा सञ्चालनमा आउन सकेको छैन।
संस्थाले जिल्लास्थित सरोकारवालाबीच पहल गर्न आग्रह गर्दै तत्काल धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा इलाम अस्पतालका प्राविधिकलाई मेसिन सञ्चालनका लागि तालिम लिन पठाउने निर्णय गरेको छ। संस्थाका अध्यक्ष रतनलाल चौधरीले मेसिन चलाउन प्रतिमहिना पाँच हजार पाँच वर्षसम्म दिने घोषणा गरे।
विसं २०७३ मा स्थापित सहयोगी हातले न्यून आयस्तर भएका २५० भन्दा धेरैलाई उपचार सहयोग पु¥याइसकेको छ। संस्थाको कोषमा रु ४५ लाखभन्दा बढी रकम जम्मा छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रभु शाहले तत्काल एक जना स्वास्थ्यकर्मीलाई तालिमका लागि पठाउने तयारी भइरहेको बताए। यो मेसिन सञ्चालन गर्ने जनशक्ति भए जिल्लावासीले जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्नेछ। (रासस)












