कर्मचारीका लागि ‘स्थानीय सरकार र कानून’ सम्बन्धी तालिम

काठमाडौं, फागुन १३ : काठमाडौँ महानगरको कानून तथा मानव अधिकार विभागले कर्मचारीहरुका लागि ‘स्थानीय सरकार र कानून’ सम्बन्धी तालिम आयोजना गरेको छ। आजदेखि सुरू भएकाे दुई दिन हुने तालिममा स्थानीय सरकारसँग सम्बन्धित कानुनी व्यवस्था र प्रयोगका विषयमा प्रस्तुतिकरण र छलफल गरिनेछ।
तालिम उद्घाटन गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘कानून जानिन भन्न कसैलाई छुट छैन। कर्मचारीलाई झन छैन। सेवा प्रवाह कानूनबमोजिम गर्नुपर्छ। त्यसैले कानुनी ज्ञान अपरिहार्य छ।’ मेयर शाक्यले भने, ‘महानगरमा हुने विवादको चाप घटाउन विभागले काम गर्नुपर्छ। दर्ता नगर्दा पक्ष विपक्ष दुवैलाई फाइदा हुने मुद्दालाई दर्ता गर्नुअघि नै सम्झाउन सक्नुपर्छ। उहाँहरुलाई सही बाटो देखाउनुपर्छ। मुद्दा दर्ता भएपछि पक्ष विपक्ष दुवै पक्षको समय वर्वाद हुन्छ। खर्च बढ्छ। यो व्यक्ति, समाज र सार्वजनिक सेवा प्रदायक हामी सबैका लागि घाटा हो।’
‘हामीले न्यायिक सम्पादनमा धेरै अनुभव लिएका छौँ। काठमाडौँ महानगरको न्यायिक प्रशासन अनुकरणीय हुनुपर्छ। मुद्दा फैसला हुँदा जित्नेले मात्र होइन, हार्नेले पनि चित्त बुझाउन सकोस्।’ विभागले यसरी कार्यसम्पादन गरोस् भन्ने मेरो चाहना हो। मेयर शाक्यको भनाइ थियो।
स्थानीय सरकारसँग सम्बन्धित कानूनका विषयमा जनप्रतिनिधि र कर्मचारीलाई सँगै राखेर क्षमता विकासको काम गर्नुपर्छ। कार्यक्रममा वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरले भने, ‘यसले सेवा प्रदायकहरुविच समान धारणा निर्माण गराउँछ । यसबाट आन्तरिक विवाद घट्छ।’
तालिममा कानून तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन र काठमाडौँ महानगरपालिकाका सन्दर्भमा कानूनको आधारभूत जानकारीका विषयमा प्रस्तुति दिएका थिए।
स्थानीय सरकार गठन भए यता काठमाडौँ महानगरले करीव ७० वटा कानून निर्माण गरेको अनुभव सुनाउँदै आचार्यले, कानून निर्माण गर्नुभन्दा कार्यान्वयन गर्नु महत्वपूर्ण भएको उल्लेख गरे। प्रस्तुतिमा विवाद निरुपण ऐन र कार्यविधिको विषय समावेश गरिएको थियो।
कहिले मुद्दाका रुपमा अगाडि बढाउनु नपर्ने विवाद दर्ताका लागि आउने गरेका छन् भने कहिलेकाहीँ क्षेत्राधिकारभित्र नपर्ने मुद्दा पनि आउने गरेका छन्। तालिममा न्याय प्रशासक रामप्रसाद पौडेलले, काठमाडौँ महानगरमा पर्ने विवाद र क्षेत्राधिकारका विषयमा प्रस्तुतिकरण गर्दै न्याय निरुपणका लागि महानगरले अवलम्बन गरेको पद्धतिका विषयमा चर्चा गरेका थिए।
तालिममा विवादमा उजुरी दर्तादेखि निर्णय लिने चरणसम्म पुग्दा अपनाइने प्रक्रियालगायत कानूनका सिद्धान्त, प्रयोग र व्यवहारका विषयमा प्रस्तुतिकरण र छलफल हुनेछ।












