Kathmandu Press

कोरोनाबाट मृत्यु हुने ६०–६९ वर्ष समूहका बढी

काठमाडाैं, फागुन १३ : विश्वव्यापी महामारीका रूपमा देखापरेका कोभिड–१९ सङ्क्रमणबाट नेपालमा झण्डै १२ हजारले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार कोरोना...
कोरोनाबाट मृत्यु हुने ६०–६९ वर्ष समूहका बढी

काठमाडाैं, फागुन १३ : विश्वव्यापी महामारीका रूपमा देखापरेका कोभिड–१९ सङ्क्रमणबाट नेपालमा झण्डै १२ हजारले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबाट ११ हजार ९३२ जनाको ज्यान गएको छ।

कोरोनाको विभिन्न ‘भेरियन्ट’मध्ये डेल्टा भेरियन्टका कारण नेपालमा धेरै नागरिकको मृत्यु भएको थियो। पछिल्लो समय फैलिएको ‘ओमिक्रोन’ भेरियन्ट बढी सङ्क्रामक देखिए पनि कम घातक पाइएको चिकित्सकको भनाइ छ।

Hardik ivf

पछिल्लो २४ घन्टामा थप एक जनाको कोरोनाका कारण मुत्यु भएको छ। नेपालमा कुल सङ्क्रमितको १.२ प्रतिशतको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

नेपालमा कोरोनाबाट सबैभन्दा बढी ६० देखि ६९ वर्ष उमेरसमूहका व्यक्तिले ज्यान गुमाएका छन्। सो उमेर समूहका दुई हजार ५०१ को सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ। यस्तै ७० देखि ७९ वर्ष उमेर समूहका दुई हजार ३७५,५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार २९३ र ४० देखि ४० वर्प उमेर समूहका एक हजार ६६३ जनाले ज्यान गुमाएका छन्।

यस्तै ८० वर्षभन्दा माथि उमेरसमूहका एक हजार ६३७, ३० देखि ३९ वर्ष उमेर समूहका ९३६, २० देखि २९ वर्ष उमेर समूहका ३७९, नौ वर्ष मुनिका ५१ र उमेर नखुलेका १३ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा आठ हजार ६२८ नमूना परीक्षण गर्दा २७५ जनामा सङ्क्रमण पुष्टि भएको छ। पाँच हजार ४५२ नमूनाको पिसीआर परीक्षण गर्दा १५८ र तीन हजार १७६ नमूनाको एन्टिजेन परीक्षणमा ११७ वटामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

आज ५५५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म नौ लाख ५५ हजार ४५८ जना कोरोनाभुक्त भएको मन्त्रालयको तथ्याङ्क छ। सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार २८० छ। शुक्रबार देशभरका खोपकेन्द्रमार्फत एक लाख २२ हजार ४९३ ले कोरोनाविरुद्धको खोप लगाएका छन्।

हालसम्म १० लाख ५६ हजार ७७२ ले कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाएका छन्। नेपालमा एक करोड ७३ लाख छ हजार ६४२ पूर्ण मात्रा, एक करोड ८४ लाख ५० हजार ७०९ पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्