सर्दु जलाधार क्षेत्र स्वच्छ राख्न धरान-भेडेटार बृहत् सरसफाइ कार्यक्रम
धरान, फागुन १३ : पूर्वी नेपालको सुन्दर सहरका रूपमा परिचित धरानको खानेपानीका लागि मूल आधार मानिएको सर्दु जलाधार क्षेत्रको संरक्षण र स्वच्छताको सन्देश दिने...
धरान, फागुन १३ : पूर्वी नेपालको सुन्दर सहरका रूपमा परिचित धरानको खानेपानीका लागि मूल आधार मानिएको सर्दु जलाधार क्षेत्रको संरक्षण र स्वच्छताको सन्देश दिने उद्देश्यले कोसी राजमार्गअन्तर्गत धरान–भेडेटार खण्डमा बृहत् सरसफाइ कार्यक्रम गरिने भएको छ।
धरान उपमहानगरपालिकाको आयोजनामा भोलि (शनिबार) धरान–१३ स्थित बेसक्याम्पदेखि भेडेटारसम्म बृहत सरसफाइ कार्यक्रम गर्न लागिएको उपमहानगरका प्रवक्ता मणिराम राईले जानकारी दिए। सरसफाइ कार्यक्रम बिहान ७ बजेबाट सुरु हुने जनाइएको छ।
‘सर्दु जलाधार क्षेत्र धरानको खानेपानीको मूल स्रोत हो तर पछिल्लो समय सो क्षेत्रमा आन्तरिक पर्यटकहरू वनभोज जाने क्रम बढेको, त्यहाँ जानेहरू खानेपानीको मुहानतिरको जलाशयमा पौडी खेल्ने गरेको लगायतका कारण सो क्षेत्रमा फोहोरमैला बढेको छ, जसका कारण धरानवासीको स्वास्थ्यमा समस्या देखिन सक्ने सम्भावना बढेको छ,’ उनले भने, ‘त्यसकारण सो क्षेत्रको संरक्षणमा सबै जुट्नुपर्ने, फोहोर गर्न नहुने सन्देश प्रवाह गर्न सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।’
सो सरसफाइ अभियानमा धरानका सामाजिक तथा जातीय संघसंस्थालगायत धरानवासीको संलग्नता रहने जनाइएको छ। ‘पानीको मुहान सधै सफा राखौं, प्राकृतिक सम्पदाको संरक्षणन गरौं, जथाभावी फोहोर नफालौं, स्वस्थ जीवन निर्वाह गरौं’ भन्ने नाराका साथ धरानदेखि भेडेटारसम्म बृहत् सरसफाइ कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए।
सर्दु जलाधार क्षेत्रमा जथाभावी दिसापिसाब नगर्न पनि सचेत गराइने उपमहानगरले जनाएको छ। कोसी राजमार्ग दायाँबायाँ फालिएका सिसाजन्य तथा प्लास्टिकजन्य फोहोरले सर्दु जलाधार क्षेत्र प्रदूषित बनेकाले त्यस्ता फोहोर हटाइने महानगरले जनाको छ।
धरानदेखि उत्तरी भेगमा चल्ने बसहरु जंगलमा रोक्ने र यात्रुहरूले दिसापिसाब गर्ने हुँदा पनि सो क्षेत्र प्रदूषित बन्ने गरेको छ। सो समस्या समाधानका लागि पनि बेसक्याम्पमा शौचालयसहितको रिफ्रेसमेन्ट बनाउने तयारीमा उपमहानगर रहेको जनाइएको छ।












