Kathmandu Press

केयुकेएलले अब दुई दिन बिराएर धारामा पानी छोड्ने

काठमाडौं, असोज ५ : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ५-६ दिन बिराएर खानेपानी वितरण गर्दै आएकामा द....

केयुकेएलले अब दुई दिन बिराएर धारामा पानी छोड्ने

काठमाडौं, असोज ५ : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ५-६ दिन बिराएर खानेपानी वितरण गर्दै आएकामा दुई दिन बिराएर वितरण थाल्ने भएको छ।

वाग्मतीमा पानीको प्रवाह बढेकाले अहिले काठमाडौंका विभिन्न ठाउँहरुमा पानीको आपूर्ति सहज बनाउन लागिएको लिमिटेडले जनाएको छ। महाराजगञ्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा जम्मा भएको पानी दुई दिन बिराएर वितरण गर्न लागिएको हो।

खानेपानी तथा सरसफाइ मन्त्रीमन्त्री बीना मगरको निर्देशनमा केयुकेएलले काठमाडौंका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको छ। वाग्मतीमा पानीको प्रवाह बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको लिमिटेडका कम्पनी सचिव मिलन शाक्यले बताए। 

उनका अनुसार पुरानै वितरण लाइनबाट पानीको वितरण हुनेछ। पुरानै लाइनबाट पानीको आपूर्ति गर्दा चुहावट हुने सम्भावना भएकाले चुहावट देख्नासाथ नजिकका शाखा कार्यालयमा खबर गर्न पनि उनले सेवाग्राहीलाई अनुरोध गरे। उनले भने,‘वर्षातका कारण काठमाडौँका मुख्य ठाउँहरुमा अहिले पानीको समस्या कम भइरहेको छ।’

लिमिटेडका अनुसार महाङ्कालचौरस्थित पानी ट्याङ्कीमा दैनिक डेढ करोड लिटर पानी थपिँदै गएको छ। महाङ्कालचौर शाखाको पानी चावहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आएको छ।

महाराजगञ्जस्थित पानी ट्याङ्कीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको छ भने नयाँ बानेश्वरको मीनभवनस्थित पानी ट्याङ्कीमा अहिले दैनिक २५ लाख लिटर पानी थपिएको छ। 

प्रकाशित मिति: १९:१७ बजे, आइतबार, असोज ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्