Kathmandu Press

पाथीभरा याङ्वरकमा सुत्केरीका घरघरमा कोसेली

ताप्लेजुङ, फागुन १३ : ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाकाले सञ्चालन गरेको ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम प्रभावकारी भएको छ।गाउँपालिकाले गत वर्षदेखि गर्भवती तथा सुत्केरीलाई लक्षित गरेर...
पाथीभरा याङ्वरकमा सुत्केरीका घरघरमा कोसेली

ताप्लेजुङ, फागुन १३ : ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाकाले सञ्चालन गरेको ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम प्रभावकारी भएको छ।

गाउँपालिकाले गत वर्षदेखि गर्भवती तथा सुत्केरीलाई लक्षित गरेर ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालनमा ल्याएको हो। सो कार्यक्रमअन्तर्गत गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङले खाद्यान्न, पौष्टिक आहारसहित कोसेली लिएर सुत्केरीको घरघरमा पुग्ने गरेको छ।

'पालिकामा एक सयभन्दा बढी गर्भवती हुन सक्छन् । उनीहरु सबैको घरमा पुग्दा हौसला त हुन्छ नै,' उनले भने, 'घरपरिवारमा उनीहरुलाई सुत्केरीका बेलामा थप हेरचाह र सहयोग हुनुपर्ने सन्देश पनि प्रवाह गर्ने गरेका छौं।'

Hardik ivf

कार्यक्रम गाउँपालिकाका सुत्केरीलाई भेट गर्ने अवसरका रुपमा मात्र नभएर सुत्केरीलाई पौष्टिक खानेकुरा खुवाउनुपर्ने र आवश्यक हेरचाह गर्नुपर्ने सन्देश समेत प्रवाह भएको उपाध्यक्ष गुरुङको भनाइ छ।

कार्यक्रमअन्तर्गत प्रत्येक सुत्केरीलाई चार किलोग्राम चनामटर, एक किलोग्राम हर्लिक्ससहित स्वास्थ्य सामग्री र नवजात शिशुका लागि न्यानो कपडा तथा सुत्केरीका लागि साबुन, नङ काट्ने, प्याड र भित्र फेर्ने कपडा सुत्केरी भएको २० दिनभित्र उनीहरुको घरघरमा पुर्‍याउँदै आएको उनले बताए।

चालु आर्थिक वर्षको अहिलेसम्म १०४ सुत्केरीको घरमा पुगेर कोसेली उपलब्ध गराइसकेको छ। पाथीभरा याङ्वरक गाउँपालिका–१ मा ३३ सुत्केरीको घरमा पुगेर कोसेली उपलब्ध गराइएको बताइएको छ।

त्यस्तै वडा नं २ मा ३३, वडा नं ४ मा १५, वडा नं ५ मा सात र वडा नं ६ मा १६ सुत्केरीको घरमा कोसेली पुर्‍याइसकिएको उपाध्यक्ष गुरुङले बताए। 'कोसेलीसँगै स्वास्थ्यकर्मी लिएर आजदेखि वडा नं २ का सुत्केरीका घरमा जाने तयारीमा छु,' उनले भने। स्वास्थ्यचौकीमा स्वास्थ्य चेकजाँच तथा सुरक्षितरुपमा प्रसूति गराउने उद्देश्यले कार्यक्रम सुरुआत गरेको उपाध्क्ष गुरुङले बताए।

सुत्केरी भएकाको घरघरमा पुगेर सामग्री वितरण तथा सुरक्षित प्रसूतिबारे जनचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको पाथीभरा याङ्वरक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र लिम्बूले बताए। सुरक्षित प्रसूति र स्वास्थ्य सन्देशसहित सामग्री वितरण भएको उनको भनाइ छ।

प्रसूति खर्चबापत नेपाल सरकारले उपलब्ध गराउँदै आएको बाहेक थप रु एक हजार गाउँपालिकाले प्रदान गरेको प्रमुख लिम्बूले बताए। गाउँपालिकाको प्रत्येक वडामा दुईदुई महिनामा गर्भवती महिलाको स्वास्थ्य परीक्षणका लागि भिडियो एक्सरे शिविर सञ्चालन गर्दै आएको उनको भनाइ छ।

स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि गाउँपालिकाभन्दा बाहिर जानुपर्‍यो भने प्रतिसुत्केरी रु पाँच हजारको दरले उपलब्ध गराउँदै आएको गाउँपालिकाले जनाएको छ। गत वर्ष पनि सोही कार्यक्रममार्फत ७८ सुत्केरीको घर पुगेर कोसेली पुर्‍याइएको थियो।

प्रकाशित मिति: १४:५८ बजे, शुक्रबार, फागुन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्