जेनेस सोलुसन र यूकेएडले २ हजारलाई क्लाउड कम्प्युटिङको प्रशिक्षण दिने
काठमाडौं, असोज ५ : यूकेएडको सहयोगमा जेनेस सोलुसनले दुई हजार सूचना प्रविधि क्षेत्रका विद्यार्थीहरूका लागि क्लाउड कम्प्युटिङको प्रशिक्षण प्रदान गरेर रोज....

काठमाडौं, असोज ५ : यूकेएडको सहयोगमा जेनेस सोलुसनले दुई हजार सूचना प्रविधि क्षेत्रका विद्यार्थीहरूका लागि क्लाउड कम्प्युटिङको प्रशिक्षण प्रदान गरेर रोजगारी उपलब्ध गराउने भएको छ।
जेनेस सोलुसनका निर्देशक निरञ्जन उदास र युकेएड सीपका टिम लिडर बलजीत बोहराले जनकपुरमा आयोजित विशेष कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र डीएफआईडी नेपालकी प्रमुख लिजा होनानको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको छ।
यूकेएड सीपसँग साझेदारीपत्रमा हस्ताक्षरपछि जेनेसले विश्वव्यापी मान्यताप्राप्त क्लाउड कम्प्युटिङ प्रशिक्षण र प्रमाणीकरणसम्मको पहुँच प्रदान गर्ने भएको छ। साथै नेपालमा शैक्षिक संस्थाहरूको क्षमता अभिवृद्धिका साथसाथै नेपाल र विश्वभरि रोजगारी उपलब्ध गराउने गरि जेनेस क्लाउड एकेडेमी (जीसीए) नामको विशेष परियोजना सञ्चालन गरिने पनि भएको छ।
जेनेसले अमेजनको जब पोर्टलमार्फत विश्वव्यापी रोजगारीमा पहुँचका लागि लोकप्रिय अमेजन वेब सर्भिस (एडब्लूएस) एजुकेट प्रोग्राम पनि सञ्चालन गर्नेछ। परियोजनाको पहिलो वर्षमा प्रदेश २ र ५का विभिन्न सहरहरुका २५ भन्दा बढी शैक्षिक प्रतिष्ठानहरूसँग रणनीतिक सहकार्य गर्नेछ।
यसअन्तर्गत विद्यार्थी र शिक्षकहरूलाई उदाउँदा क्लाउड कम्प्युटिङका विषयहरूमा पहुँचका उपकरण (एक्सेस टुल्स), पाठ्यकक्रम र प्रमाणीकरणमा मार्ग प्रशस्त गर्नका लागि एडब्लूएस एजुकेट प्रोग्राम, माइक्रोसफ्ट लर्न प्रोग्रामजस्ता अन्तर्राष्ट्रिय स्तरमा मान्यताप्राप्त तालिमका विधिहरू (मोड्युल) लाई अंगीकार गर्नेछ।
यो कार्यक्रमलाई एडब्लूएस एजुकेट, माइक्रोसफ्ट एजुकेसन, गुगल एजुकेसन, अलिबाबा क्लाउड एकेडेमी, सिस्को नेटवर्किङ एकेडेमी र एट्लासियन युनिभर्सिटीको सहयोग रहेको छ। अनलाइन प्रशिक्षण र व्यक्तिगत अध्यापनको मिश्रित विधि उपयोग गर्दै, प्रशिक्षक प्रशिक्षणका माध्यमबाट शैक्षिक प्रतिष्ठानहरूको दिगो रूपमा क्षमता र स्तरोन्नति गर्दै, जेनेसले यस्ता कार्यका लागि तैयार जनशक्ति निर्माण गर्ने लक्ष्य लिएको छ।
सीपमूलक प्रशिक्षणमा एप्लिकेसन डेभलपर, क्लाउड सपोर्ट इन्जिनियर, क्याउड सपोर्ट एसोसियट, साइबर सेक्युरिटी स्पेशलिस्ट र डाटा इन्टिग्रेसन स्पेशलिस्ट, आर्टिफिसियल इन्टिेलिजेन्स एन्ड मेसिन लर्निङ डेभलपर, आईओटी डेभलपर, डिजिटल मार्केटर, बिजनेस एनालिस्ट्स आदि पदीय भूमिकालाई समेटिन्छ।
प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई विश्वबजारमा उपलब्ध स्वतन्त्र र अनलाइन जागिर प्रदान गर्ने ४ हजारभन्दा बढी रोजगारदातासम्मको पहुँच हुने गरि एडब्लूएस एजुकेट्सको जब पोर्टलसँग आवद्ध तुल्याइने छ।
जेनेस सोलुसनका संस्थापक एवं ग्लोबल प्रमुख प्राविधिक अधिकृत (ग्लोबल सीटीओ) अञ्जनी फुयाँलले भनिन्,‘हामीले पर्याप्त संख्यामा यस्ता विद्यार्थीहरू देख्दै आएका छौं, जोसँग शिक्षाको प्रमाणपत्र त छ तर, उनीहरूमा सूचना प्रविधि वा सूचना प्रविधिजन्य कम्पनीहरूमा ठाउँ पाउने पर्याप्त दक्षता भने छैन। उद्योग र नेपालको शैक्षिक क्षेत्रबीचको ग्यापमा पुलको काम गर्ने मूल अवधारणाले जेनेस क्याउड एकेडेमी आरम्भ गर्ने र यो परियोजना सञ्चालन गर्न लागिएको हो।’
यसैगरी, यूकेएड सीपका टिम लिडर बलजीत बोहराले समस्याका जरैसम्म पुगेर परिवर्तन ल्याउन परियोजन सफल हुने बताए। ‘हामी यो साझेदारीमार्फत समस्याको जरै तहमा काम गरेर परिस्थितिमा परिवर्तन ल्याउन चाहन्छौं। यो कार्यक्रमको मुख्य उद्देश्य भोलिका प्रविधिक जनशक्तिलाई आज प्रशिक्षित तुल्याउनु र उनीहरूलाई लाभदायक रोजगारीमा नियुक्ति सुनिश्चित तुल्याउनु हो,’ बोहोराले भने।











