Kathmandu Press

दुर्गादेवीको बिलाैना- न्याय नपाए मानव अधिकार आयोगको ढोकामा गएर मर्छु

काठमाडौं, असोज ५ : सर्लाहीको लालबन्दी–१ का कुमार पौडेलको हत्या गरिएको भन्दै पीडित परिवारले दोषी प्रहरीमाथि कारवाही गर्न माग गरेको छ। गत असार ५ ग....

दुर्गादेवीको बिलाैना- न्याय नपाए मानव अधिकार आयोगको ढोकामा गएर मर्छु

काठमाडौं, असोज ५ : सर्लाहीको लालबन्दी–१ का कुमार पौडेलको हत्या गरिएको भन्दै पीडित परिवारले दोषी प्रहरीमाथि कारवाही गर्न माग गरेको छ। गत असार ५ गते प्रहरीसँगको मुठभेडमा पौडेल मारिएका थिए। 

पीडित परिवारले दोषीलाई कारवाहीको माग गर्दै हत्याको सत्य तथ्य छानविन गर्न सरकारसँग माग गरेको छ। सही छानविन नभए आफूहरु कडा रुपमा प्रस्तुत हुने पीडित परिवारले चेतावनी दिएको छ। 

आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मृतकका भाइ हरिकृष्ण पौडेलले आफ्नो दाइको हत्या भएको तीन महिना बितिसक्दा पनि राष्ट्रिय मानव अधिकार आयोगले घटनाको सत्य तथ्य पत्ता लगाएर प्रतिवेदन सार्वजनिक नगरेको गुनासो गरे।

उनले आफ्ना दाइ कुमारले सागरनाथ वन विकास परियोजनामा बसेका सुकुम्वासीको हितमा आवाज उठाउँदा र पेट्रोल पम्पका लागि सरकारले खरिद गरेको जग्गामा भएको घोटालाको विषयलाई जोडदार रुपमा उठाउँदा सरकारले निशाना बनाएको आरोप लगाए।

उनले सरकारले १८ देखि १९ करोडको जग्गा घोटला गरेको र सुकुम्बासीको जग्गामा कम्युनिष्ट पार्टीहरु मिलेर २१ करोडको जग्गा अतिक्रमण गरी कब्जा गरेको सुनाए। 

उनले आफ्नो दाइलाई मार्न बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, श्याम परदेशी र सागरनाथ वन परियोजनाको मिलेमतो रहेको दाबी गरे। दाइको हत्या गर्न उनीहरुले १० करोड खर्च गरेको पनि पौडेलको आरोप छ।

उनले पौडेलको हत्या भएको भन्ने कुराको प्रमाण सुताएर पैतालाबाट गोली हानी घुँडाबाट निकालिएको पनि बताए। ‘मेरो दाइको शरीरमा १५ गोली लागेको थियो, दाँत र हात भाँच्चिएको हुँदा कुनैपनि हालतमा यो इन्काउटर थिएन, बरु हत्या नै हो। म यसलाई नियन्त्रित र सुनियोजित घटना भएको दाबी गर्छु,’ उनले भने।

प्रतिवेदनमा ६ वटा गोली लागेको भन्ने उल्लेख गरिएको भएपनि मृतकको शरीरमा १५ गोली लागेको उनको दाबी छ। 

कार्यक्रममा मृतककी श्रीमती कला पौडेलले सरकारले आफ्नो श्रीमानको गैरन्यायिक हत्या भएको दाबी गरिन्। उनले आफ्नो श्रीमानलाई ‘इन्काउन्टर’ मा नभएर कुटपिट तथा शरीर थिलथिलो बनाएर नियन्त्रित बनाएर हत्या गरेको बताइन्।

कार्यक्रममा मृतककी आमा दुर्गादेवी पौडेलले हत्या भएको यति दिन भइसक्दा पनि न्याय नपाएको गुनासो पोखिन्।

उनले भनिन्,‘म ७० वर्षको वृद्धा कहाँ जाऔँ? को सँग न्याय मागौं? आज म न्यायका लागि न्यायको भिख माग्दै यहाँसम्म आएको छु। मलाई न्याय चाहियो।’ उनले न्याय नपाए आफू राष्ट्रिय मानव अधिकार आयोगको ढोकामा गएर मर्न तयार भएको बताइन्।

‘१५ वर्षको नातीले एसएसपीलाई मेरो बाबालाई पैसा खाएर मार्यौ यदि मेरो बाबाको हत्यारा पत्ता नलगाए र हामीलाई न्याय नदिए मेरो कलम समाउने हातले बन्दुक समाउने छ भन्छ। त्यो बालकले यस्तो भन्दा बालकको मस्तिष्कमा समेत यस्तो छाप बसेको हुँदा न्यायका लागि सहयोग गरिदिन आग्रह गर्छु,’ उनले भनिन्।
 

प्रकाशित मिति: १६:२९ बजे, आइतबार, असोज ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्