रूस-युक्रेन संकट : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो, नेपालमा के हुन्छ?
युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली देशहरुले रूसमाथि कडा प्रतिबन्ध लगाउने तयारी गर्दै गर्दा रूसबाट निर्यात हुने कच्चा तेलको मूल्य अत्यधिक बढेको हो।काठमाडैं, फागुन १२ : रूस-युक्रेन संकटको प्रभाव विश्व बजारमा देखिन थालेको छ। बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थमा देखिएको हो।
पुटिनको घोषणा लगत्तै बढ्दो तनावका बीच कच्चा तेलको प्रति ब्यारेल मूल्य सय अमेरिकी डलर पुगेको र यसले सात वर्षयताकै रेकर्ड तोडेको बिबिसीले जनाएको छ। रुस–युक्रेन संकट र तनावको असर एसियाली सेयर मार्केटमा समेत देखिएको छ।
युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली देशहरुले रूसमाथि कडा प्रतिबन्ध लगाउने तयारी गर्दै गर्दा रूसबाट निर्यात हुने कच्चा तेलको मूल्य अत्यधिक बढेको हो।
नेपालमा प्रभाव
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य स्वाभाविक रूपमा बढ्ने बताउँछन्। ‘एक डलर वृद्धि हुँदा एक रुपैयाँभन्दा बढी नेपालले व्यहोर्नुपर्छ,’ उपाध्याय भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारको कच्चा तेलको मूल्यका आधारमा भारतीय आयल कर्पोरेसनले हामीलाई पठाउने हो।’
उनका अनुसार, भारतले प्रत्येक १५÷१५ दिनमा नेपाललाई नयाँ मूल्य सूची पठाउँछ। कच्चा तेलको मुल्य वृद्धि हुँदा आयल निगमलाई मात्र नभइ सिंगो राष्ट्रलाई नै आर्थिक चुनौती थपिने उनको बुझाइ छ। ‘मार्च १ मा भारतीय आयल कर्पोरेसनले मूल्य सूची पठाउँछ।
त्यसमा कति मूल्यसूची तोकिन्छ भन्ने यकिन नभए पनि धेरै नै बढेर आउँछ जस्तो देखिएको छ,’ उनले भने। मूल्यसूची बढेर आउँदा सुरुमा आयल निगमकै घाटा बढ्ने प्रवक्ता उपाध्याय बताउँछन्। उनका अनुसार, निगमले पेट्रोलमा १५ रुपैयाँभन्दा बढी, डिजेलमा १२ रुपैयाँभन्दा बढी र एलपिजीमा प्रति सिलिन्डर पाँच सय ६० रुपैयाँ घाटा खाएर बिक्री गरिरहेको छ।
‘जुनसुकै चुनौती आए पनि हामीले कटौती पनि गरेका छैनौँ र बढाउने पनि गरेका छैनौं। त्यसैले आपूर्तिमा असहजता पनि आएको छैन। तर मूल्य वृद्धिका कारण सर्वसाधारणले खेप्नुपरेको मूल्यभार जनता स्वयंले बुझ्नुहुन्छ भन्ने अपेक्षा गछौँ,’ उनले भने।