Kathmandu Press

दशैंमा २२ हजार खसीबोका अपुग हुने, मासुको मूल्य बढ्ने

काठमाडौं, असोज ५ : सरकारले भारतबाट खसीबोका आयात गर्न रोक लगाएपछि दशैंमा मासुकाे अभाव हुने भएको छ। खसीबोका अभाव हुने भएपछि दशैंमा मासुको मूल्य बढ्....

दशैंमा २२ हजार खसीबोका अपुग हुने, मासुको मूल्य बढ्ने

काठमाडौं, असोज ५ : सरकारले भारतबाट खसीबोका आयात गर्न रोक लगाएपछि दशैंमा मासुकाे अभाव हुने भएको छ। खसीबोका अभाव हुने भएपछि दशैंमा मासुको मूल्य बढ्ने छ।

हरेक वर्ष दशैंमा ५० देखि ५५ हजार खसीबोका  भारतबाट आयात हुने गरेपनि यस वर्ष सरकारले आयातमा रोक लगाएकाले खसीबोकाको अभाव हुने चौपाया खरिद विक्री संघका अध्यक्ष सन्तोष खत्रीले बताए। ‘दशैंमा यो पटक कम्तिमा २२ हजार खसीबोका अपुग हुन्छ। त्यसैले मासुको मूल्य बढ्नेछ,’ अध्यक्ष खत्रीले भने।

Hardik ivf

यस वर्षको दशैंका लागि राजधानी काठमाडौंमा मात्रै ५० हजारभन्दा बढी खसीबोका र  पाँचदेखि ६  हजार भेडाच्याङ्ग्रा ल्याइँदैछ। दशैंका लागि हेपो संस्थाले ५२ हजार खसीबोका छुट्याएको छ।

त्यस्तै, खसीबोका संघले २० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड एक हजार खसीबोका र दुई हजार च्याङ्ग्रा छुट्याएको छ। यसले बजारको माग धान्न नसक्ने चौपाया खरिद विक्री संघका अध्यक्ष खत्रीले बताए।

सरकारले भारतबाट ल्याउन रोक लगाउँदा समस्या भएको उनले बताए। अहिले पनि लुकिछिपी खसीबोका आइरहेको बताउदै यसले मासुका भाउ बढ्ने उनको भनाइ छ। ‘सरकारले कि त पूरै आयत रोक्नुपर्‍यो। होइन भने, खुल्ला गरेर खसीबोकाको मासुको आपूर्ति सहज बनाउने व्यवस्था गर्नुपर्‍यो,’ अध्यक्ष खत्रीले काठमाडौंप्रेससँग भने, ‘यो अवस्थामा त दशैंमा खसीबोकाको मासुको मूल्य बढ्ने निश्चित छ।’

संघका अनुसार, काठमाडौंमा चाडपर्वबाहेकका समयमा दैनिक एक हजार खसीबोका आपूर्ति हुन्छ। अहिले नै दैनिक तीन सय खसीबोका अभाव भइरहेको छ। दशैंका समयमा दोब्बर माग हुन्छ।

अहिले नै खसीको मासुको मूल्य बढिसकेको छ। सरकारले रोक लगाए यता एक महिनामै जिउँदो खसीको मूल्य प्रतिकिलो दुई सय रुपैयाँले बढेको छ। अहिले जिउँदो खसी प्रतिकेजी ६५० र मासु १२५० देखि १३५० सयमा विक्री भइरहेको छ। गत वर्षको दशैंमै जिउँदो खसीबोकाको मूल्य ५४० रुपैयाँ प्रतिकेजी रहेको थियो।

सरकारले आयातमा रोक लगाउँदा उपभोक्ता मात्रै मर्कामा पर्ने उनको भनाइ छ। व्यापारीले लुकिछिपी ल्याइरहेको बताउँदै उनले भने, ‘आयात नहुँदा मासुको अभाव भइहाल्छ। एकातिर उपभोक्ताले प्रयाप्त मासु पाउँदैनन्, अर्कोतिर महंंगो हुन्छ। चोरीछिपी ल्याउनेहरुले पनि महंगोमै विक्री गर्छन्।’

प्रकाशित मिति: १४:३८ बजे, आइतबार, असोज ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्