Kathmandu Press

पशुपतिनाथ विश्वमा नेपाल चिनाउने माध्यम भएकाले सुरक्षा हुन्छ : गृहमन्त्री खाँण

काठमाडाैं, फागुन ११ : गृहमन्त्री बालकृष्ण खाँणले पशुपतिनाथ मन्दिर विश्वका सबै हिन्दूका लागि महत्वपूर्ण र आराध्य देव भएकाले यस क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ...
पशुपतिनाथ विश्वमा नेपाल चिनाउने माध्यम भएकाले सुरक्षा हुन्छ : गृहमन्त्री खाँण

काठमाडाैं, फागुन ११ : गृहमन्त्री बालकृष्ण खाँणले पशुपतिनाथ मन्दिर विश्वका सबै हिन्दूका लागि महत्वपूर्ण र आराध्य देव भएकाले यस क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाइने बताएका छन।

महाशिवरात्रि २०७८ का अवसरमा सुरक्षा व्यवस्था अनुगमन उपसमितिले आज आयोजना गरेको कार्यक्रममा उनले पशुपतिनाथको ख्याति र प्रभावले विश्वमा नेपाललाई चिनाउने माध्यम पनि पशुपति क्षेत्र बनेको बताए। 'सगरमाथा, पशुपतिनाथ मन्दिर र गौतमबुद्धको जन्मस्थल लुम्बिनीले नेपाललाई विश्वमा चिनाएको छ, यी स्थलका माध्यमबाट नेपालको राष्ट्रियता बलियो हुन्छ, यहाँ आउने धार्मिक पर्यटक, सन्तमहन्तलाई सहज सेवा र सुरक्षा दिन सरकार प्रतिबद्ध छ,' उनले भने।

Hardik ivf

 विदेशबाट आउने धार्मिक पर्यटकका माध्यमबाट पशुपतिनाथको महिमा बढ्ने भएकाले सुरक्षा व्यवस्थालगायत अन्य व्यवस्थापन गर्न उनले सुरक्षा निकायका साथै सरोकार भएका सबैलाई निर्देशन दिए। पशुपतिमा चाडपर्वमा मात्र नभई सधैँ सुरक्षा सुदृढ गर्न सरकारले सहयोग गर्ने मन्त्री खाँणको प्रतिबद्धता थियो।

गृहमन्त्री भएपछि आफूले तीनपटक पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा आराधना गरेको सुनाउँदै उहाँले लाममै बसेर दर्शन गर्दा धेरै विषय जान्ने अवसर पाएको बताए। सुरक्षा उपसमिति संयोजकसमेत रहेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले महाशिवरात्रिका अवसरमा यस वर्ष १० लाखभन्दा बढी पर्यटक आउने अनुमान गरी सुरक्षितरूपमा दर्शनको व्यवस्थापनका लागि काम गरेको बताए। पशुपति क्षेत्रलाई मासु मदिरारहितस्थलका रूपमा विकसित गरिएको उनले जानकारी गराए।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले विगत वर्षका कमीकमजोरी न्यून गरी पशुपति क्षेत्रमा सुरक्षालगायत महाशिवरात्रिको तयारी गरिने बताए। सुरक्षा निकायले छुट्टाछुट्टै योजना पनि बनाएर महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्न जिल्ला सुरक्षा समितिको बैठकसमेत बसेर निर्णय गरिने जानकारी पनि उनले दिए।

डिजिटल बत्ती र फूलमालाले सजाएर पशुपति क्षेत्रलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न लागिएको सदस्य सचिव थापाले सुनाए। परिषद् सदस्य देवीप्रसाद बरालले पशुपति क्षेत्रमा महाशिवरात्रिका बेलामात्र नभई अन्य समयमा सुरक्षाकर्मी अपुग भएकाले दरबन्दी थप गर्न, पशुपति क्षेत्रमा छुट्टै पोष्ट स्थापना गर्न र ट्राफिकको सङ्ख्यासमेत बढाउन गृहमन्त्रीसँग माग गरेका थिए।

कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले पशुपति क्षेत्रमा गाँजा भाङ बेचबिखन एवं प्रयोग गर्न निषेध गरिएको बताए। रात्रि चार प्रहरमा हुने पूजाका लागि सुरक्षा व्यवस्थासमेत मिलाइएको उनले सुनाए।

प्रकाशित मिति: २०:५७ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्