अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले असर पर्नसक्छ : प्रधानमन्त्री देउवा
काठमाडाैं, फागुन ११ : प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले देशको संवेदनशील भू–राजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले समग्र...
काठमाडाैं, फागुन ११ : प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले देशको संवेदनशील भू–राजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले सचेत रहन निर्देशन दिएका छन।
महाशिवरात्रि एवं सेना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित दुईदिने कमाण्ड सेनापति समन्वयात्मक बैठकको शुभारम्भ गर्दै उनले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा आएको सानो परिर्वतनले देशको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा असर पर्नसक्नेतर्फ ध्यानाकर्षण गराए।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुशल सञ्चालनमार्फत भविष्यमा उच्चस्तरीय जनशक्ति र विशेषज्ञ उत्पादन हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व राख्ने काठमाडौँ–तराई–मधेस द्रुतमार्गलगायतका विभिन्न राष्ट्रिय सडक करिडोरको निर्माणमा सेनाले पुर्याएको योगदानको प्रशंसा गरे।
मुलुकका सडक पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न सेना सक्षम रहेको उल्लेख गर्दै उनले सेनाको पहलकदमीमा स्थापना हुन लागेका आयोजनामा आवश्यक स्रोतसाधनको अभाव हुन नदिने दृढता व्यक्त गरे।
उनले ‘बङ्करदेखि ब्यारेक’ कार्यक्रम यथाशीघ्र सम्पन्न गरी सेनाका सकलदर्जाका लागि उचित कार्य वातावरण सुनिश्चित गर्नसमेत सरकार प्रतिबद्ध रहेको बताए। प्रधानमन्त्री एवं रक्षामन्त्री देउवाले महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा स्वदेश तथ विदेशमा कार्यरत सेनाका सकलदर्जामा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेश अक्षरशः पालना गर्न कटिबद्ध रहेको बताए।
उनले भने, 'देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिका सम्बन्धमा सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको छ, त्यसबाट सिर्जना हुनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न सदैव तयारी अवस्थामा छ।'
बैठकमा विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुख तथा कमाण्ड सेनापतिले आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझावसहितको प्रस्तुतीकरण गर्नेछन।
शुभारम्भ कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, पिएसओज रथीवृन्द, सबै कमाण्ड हेडक्वार्टरका कमाण्ड सेनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्रका बाहिनी अड्डाका बाहिनीपतिको सहभागिता छ।












