छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं, फागुन ११ : देशका विभिन्न स्थानमा छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
कालिकोटको पलाता गाउँपालिका-९ घाटाचौरस्थित सडकमा से१ज ९६० नम्बरको जिपको ठक्करबाट सोही गाउँपालिका-१ बस्ने ६२ वर्षीय परिलाल भण्डारीको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। साथै जिपको ठक्करबाट घाइते भएका अन्य ३ जनाको पातला अस्पताल हुँदै थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेततर्फ पठाइएको छ। जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको कोसी गाउँपालिका-८ भाण्टावारीस्थित सडकमा प्र २ ०३-००१ ख २५०५ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय भरत सहनीको मंगलबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवा सुनसरीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषाको औरही गाउँपालिका-२ परवाहास्थित सडकमा परवाहतर्फ जाँदै गरेको साइकलको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीया उर्मिला देवी मण्डलको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको नवजीवन अस्पताल जनकपुर हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साइकलयात्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।












