इन्डोनेसियामा विवाहेत्तर यौन सम्बन्ध राखे जेल सजाय
जाकर्ता : इन्डोनेसियाले सहमतिमा हुने विवाहेत्तर यौन सम्बन्धलाई अपराध मान्ने नयाँ कानून ल्याउने तयारी थालेको छ।
राष्ट्रपतिको प्रतिष्ठामा....

जाकर्ता : इन्डोनेसियाले सहमतिमा हुने विवाहेत्तर यौन सम्बन्धलाई अपराध मान्ने नयाँ कानून ल्याउने तयारी थालेको छ।
राष्ट्रपतिको प्रतिष्ठामा आँच पुर्यााउनेलाई पनि कडा सजाय हुने भएको छ। आधारभूत स्वतन्त्रता कुण्ठित पार्ने भन्दै अधिकारवादी समूहले नयाँ कानूनको आलोचना गरेका छन्।
इन्डोनेसिया विश्वकै सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो। त्यहाँ क्रिस्चियन, हिन्दु र बौद्धमार्गी पनि छन् तर अल्पसंख्यक। पछिल्लो समय त्यहाँ धार्मिक आस्था गहिरो बन्दै गएको छ। रूढीवादी इस्लामी सक्रियता पनि उत्तिकै बढ्दै गएको छ।
संसद र सरकारले अन्तिम मस्यौदामा सहमति जनाएपछि अर्को सातादेखि नयाँ कानून लागू हुने चार सांसदले जनाएका छन्। डच औपनिवेशिक कालका कानूनलाई स्थानान्तरण गर्ने नयाँ कानून इन्डोनेसियाको स्वतन्त्रता र धार्मिकताको बहुप्रतिक्षित अभिव्यक्ति भएको विधायकहरूले बताए।
“भगवानको सर्वोच्च सिद्धान्त विपरीत हुने व्यवहारबाट राज्यले नागरिकलाई सुरक्षा दिनुपर्छ,” प्रोस्पेरस जस्टिस पार्टीका नेता नासिर जमिलले भने। इन्डोनेसियाको जगनै भगवानको विश्वासमा अडिएकोले सबै धर्मका नेतृत्वसँग परिवर्तनबारे छलफल गरिएको उनले बताए।
प्रस्तावित कानून अन्तर्गत “पतिपत्नीका रूपमा सँगै बस्ने” अविवाहित जोडीलाई ६ महिनासम्म जेलसजाय वा अधिकतम एक करोड रूपैयाँ (७१० अमेरिकी डलर) सम्म जरिवाना हुनेछ। यो रकम धेरै इन्डोनेसियालीहरूको तीन महिनाको पारिश्रमिक बराबर हो। गाउँका मुखिया सरकारको तल्लो तह हो।
गाउँका मुखियाले प्रहरीमा उजुरी दिए र आरोपीका आमाबाबु वा सन्तानले विरोध नगरे कानूनी प्रक्रिया अघि बढ्नेछ। आमाबाबु, सन्तान र पतिपत्नीले पनि उजुरी दिन पाउनेछन्। “विवाहेत्तर सम्बन्धले समाजलाई पनि पीडित बनाउने भएकाले” गाउँका मुखियालाई दिइएको नयाँ शक्ति आवश्यक रहेको अर्का विधायक तौकी तौफिकुल्हादीले बताए।
आलोचना
इन्स्टिच्युट फर क्रिमिनल जस्टिस रिफर्म नामक गैरसरकारी संस्थाले नयाँ कानूनका कारण लाखौं इन्डोनेसियाली प्रभावित हुने बताएको छ। एक अध्ययन अनुसार इन्डोनेसियाका ४० प्रतिशत किशोरकिशोरी विवाहपूर्व नै यौन गतिविधिमा संलग्न भएको देखाउने संस्थाले उल्लेख गरेको छ।
“यो रूढीवादको पराकाष्ठा हो। यो अत्यन्तै प्रत्युत्त्पादक छ,” युनिभर्सिटी अफ मेल्बोर्नको सेन्टर फर इन्डोनेसियन ल, इस्लाम एन्ड सोसाइटीका निर्देशक टिम लिन्ड्सेले भने।
पतिपत्नीबाहेक अर्कैसँग यौन सम्बन्ध राख्ने र परिवारका सदस्यले उजुरी दिए आरोपीलाई अधिकतम एक वर्षको जेल सजाय पनि हुनसक्छ। यसबाट समलिंगीहरू पनि प्रभावित हुनेछन्। इन्डोनेसियामा समलिंगी विवाहलाई मान्यता दिइएको छैन।
नयाँ कानूनले “वासना वा यौनिकता” मार्फत् शालीनता र नम्रता उल्लंघन गरेको भन्दै अश्लिल गतिविधिमा संलग्नलाई पनि जेल सजाय हुने व्यवस्था गरेको छ। त्यसमा विपरीत लिंगी वा समलिंगी जोकोही पनि पर्नसक्छन्।
नयाँ कानून विदेशी नागरिकलाई पनि लागू हुनेछ। तर इन्डोनेसियामा आएका पर्यटकलाई पनि विवाहेत्तर यौन सम्बन्धका लागि जेल सजाय हुन्छ त भन्ने प्रश्नमा तौफिकुल्हादीले भने,”मानिसहरूलाई थाहा नभएसम्म कुनै समस्या हुनेछैन।”
स्वास्थ्य समस्या वा बलात्कार नभएको अवस्थामा गर्भपतन गराउने महिलालाई अधिकतम चार वर्ष जेल सजाय हुनेछ। गर्भनिरोध प्रवर्द्धन केहीलाई जरिवाना पनि हुनसक्छ भने गर्भपतनका उपायबारे अनाधिकृत छलफल गरे ६ महिनाको जेल सजाय हुनेछ।
यसबाहेक उक्त कानूनमा समावेश नभएका परम्परागत कानूनको उल्लंघन भएमा स्थानीय निकायले सजायको व्यवस्था गर्न पाउने स्वतन्त्रता पनि पाउनेछन्।
इन्डोनेसियामा चार सयभन्दा धेरै स्थानीय नियमहरू छन्। अभियन्ताहरू ती नियमले नागरिक अधिकार हनन हुने बताउँछन्। यस्ता नियमानुसार महिलाले अनिवार्य रूपमा हिजाब लगाउनुपर्छ।
त्यसैगरी संसदले इन्डोनेसियाली राष्ट्रपति र उपराष्ट्रपतिको मान र प्रतिष्ठामा आँच पुर्याउने कार्यलाई पनि कानूनको उल्लंघन बताएको छ। संवैधानिक अदालतले यस्तै कानून सन् २००६ मा पनि लागू गरेको थियो।
नयाँ काननूलाई अधिकारवादीले चुनौती दिने पक्का छ। सरकार र राज्यका निकायको अपमान गरे पनि जेल सजाय हुनेछ।



-1771243509.jpg)








