मनसुन अझै लम्बिने, वर्षाको सम्भावना
काठमाडौं, असोज ४ : नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बि....

काठमाडौं, असोज ४ : नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्रणाली विकसित भएकाले अझै वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्। यस वर्ष औसतभन्दा मनसुनको सयम लम्बिने सम्भवना रहेको उनको भनाइ छ। मनसुनको समय लम्बिए पनि भारी वर्षाको सम्भावना भने छैन। छोटो समयमा हल्कादेखि मध्यम हुने मौसमविद्को भनाइ छ।
राति देशका मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार देशभरि सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।
सोमबार देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै पूर्वका पहाडी भेगका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका मध्य र पूर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा पहिरो जानसक्ने तथा नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।











