Kathmandu Press

भ्रमण वर्षसँगै  ‘अम्ब्रेला स्ट्रिट’ सञ्चालनमा आउने

भरतपुर, असोज ४ : चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानीमा निर्माण भइरहेको ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू भ्रमण वर्ष २०२०’ सँ....

भ्रमण वर्षसँगै  ‘अम्ब्रेला स्ट्रिट’ सञ्चालनमा आउने
सांकेतिक

भरतपुर, असोज ४ : चितवनको भरतपुर महानगरपालिका–२२ पटिहानीमा निर्माण भइरहेको ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू भ्रमण वर्ष २०२०’ सँगै सञ्चालनमा आउने भएको छ। एक वर्षअघिबाट थालिएको काम अन्तिम चरणमा पुगेको छ। 

चितवन राष्ट्रिय निकुञ्ज भएर बगेको राप्ती नदीको किनारमा रहेको रमणीय स्थलमा वन, वन्यजन्तु र सूर्यास्तको अवलोकनसँगै थारु समुदायको संस्कृतिसँग रमाउनका लागि स्ट्रिट निर्माण गरिएको हो। 

सो स्थानमा छातामुनि बसेर विभिन्न स्थानीय परिकारमा पर्यटक रमाउन पाउने छन्। भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोका अनुसार मुख्य एउटा र सहायक दुई वटा पानीका फोहोरा (फाउन्टेन) जडान गर्न बाँकी रहेको छ। 

यसैगरी छाता र त्यसमाथि रहने फाइबरको छानाका लागि बोलपत्र आह्वान भइसकेको छ। ती कामबाहेक अन्य काम अन्तिम अवस्थामा पुगेको उनले बताए। सो ठाउँको राप्तीतर्फ ३५ मिटर लम्बाइ र १८ मिटर चौडाइका तलमाथि गरी दुई वटा खण्ड रहेका छन्। त्यसको भुँइमा पोख्रेली ढुङ्गा छापिएको छ। 

सोही ठाउँमा राखिने कुर्चीमा बसेर पर्यटकले निकुञ्जको दृश्यावलोकनमा रमाउँदै एकसिङ्गे गैँडासहितका दुलर्भ वन्यजन्तु हेर्न सक्नेछन्। यससँगै बाटोसँग जोडिएको ९० मिटर लामो र १२ मिटर चौडाइ रहेको ठाउँमा कङ्क्रिट टायल बिछ्याइएको छ। सो ठाउँमा ३४० वटा छाता र त्यसमुनि कुर्ची टेबुल रहनेछन्। त्यसमाथि फाइबरको छाना रहनेछ।

महतोका अनुसार ९० मिटर लामो भागमा चार स्थानमा टापु बनाइएको छ भने बीच भागबाट १६ वटा फलामका बिजुलीका पोल गाडिएको छ। त्यस माथिको खुला तारको सट्टामा प्लाष्टिक बेरिएको तार राखिएको छ। प्रवेशद्वारमा चौकीदार कक्ष, टिकट कक्ष, शौचालय निर्माण गरिएको छ। 

सोही स्थानमा १० वटा फ्रेममा थारुका संस्कृति झल्कने वस्तु राखिएका छन्। काम सम्पन्न गर्न चार करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महतोले बताए। सो कामका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  एक करोड रुपैयाँ निकासा गरिसकेको छ। थप रकमको आश्वासनसमेत रहेको भन्दै उनले अपुग रकम महानगरपालिका र वडा कार्यालयले जुटाउने बताए।  

यही डिसेम्बरसम्ममा काम सम्पन्न गरी स्ट्रिट सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए। सो क्षेत्र गत वर्ष सरकारले घोषणा गरेका १०० पर्यटकीय गन्तव्यमध्येको एक हो। क्षेत्रीय होटल सङ्घ पश्चिम चितवन कसरा एकाइका संयोजक गणेश पौडेलका अनुसार निकुञ्जको मुख्यालय नजिकै रहेको पटिहानी क्षेत्रमा ठूला होटलको सङ्ख्या बढ्दै गएको छ। जिल्लाको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा यस क्षेत्रलाई चिनिँदै आएको छ। यस क्षेत्रमा ५० वटाभन्दा बढी साना ठूला होटल, रिसोर्ट सञ्चालनमा रहेको उनले बताए। 

विशेष गरी यस क्षेत्रमा पर्यटकले जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पाउनुका साथै घडियाल र गिद्ध प्रजनन केन्द्र अवलोकन गर्नसक्ने उनले बताए। यसै क्षेत्रमा थारु समुदायको बस्ती रहेको छ। रासस

प्रकाशित मिति: १२:५२ बजे, शनिबार, असोज ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्