राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौलाद्वारा पार्टी परित्यागकाे घाेषणा
काठमाडौं, फागुन ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य राजाराम बर्तौलाले पार्टी परित्याग गरेका छन्।हेटाैंडाबाट आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै उनले...
काठमाडौं, फागुन ९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य राजाराम बर्तौलाले पार्टी परित्याग गरेका छन्।
हेटाैंडाबाट आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै उनले पार्टी परित्याग गरेको जानकारी दिएका हुन्। उनले आफूले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय सदस्यबाट राजीनामा दिएको विज्ञिप्तमा उल्लेख गरेका छन्।
राप्रपा महाधिवेशनपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निर्मल निवासको हस्तक्षेप बारे आफूलगायत केही साथीले उठाएको छानबिनको विषयलाई नेतृत्व तहबाट बेवास्ता गरिएको दाबी उनले गरेका छन्।
‘पार्टीभित्र गम्भीर सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको हुँदा यो अवस्थामा नैतिक रुपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकाले नैतिकताको आधारमा आजैका मितिदेखि साधारण सदस्य समेत नरहने गरि केन्द्रीय सदस्य पदबाट राजिनामा दिएको छु,’ उनले भनेका छन्।
उनी गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। उनी विगतमा पूर्वअध्यक्ष कमल थापानिकट थिए। अबको राजनीतिक यात्रा कसरी अगाडि बढ्ने भन्ने विष्यमा उनले केही लेखेका छैनन्।
विगतमा थापासँग निकट रहेकाले हाल थापाकै नेतृत्वमा रहेको राप्रपा नेपालमा उनको राजनीति अगाडि बढ्न सक्ने अनुमान गरिएको छ।













