’ए’ डिभिजन लिग : फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित
काठमाडाैं, फागुन ८ : कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ। आइतबार भएको खेलमा आठ पटकको...
काठमाडाैं, फागुन ८ : कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ। आइतबार भएको खेलमा आठ पटकको च्याम्पियन मनाङ न्युरोड टिम एनआरटीसँग १–० गोल अन्तरले पराजित भएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउले निर्णायक गोल गरे। खेलको २६ औं मिनेटमा मेसुकेले गरेको गोलबाट एनआरटीले तीन अंक जोडेको हो। दर्शन गुरुङको फ्रि–किक बललाई नियन्त्रणमा लिंदै मेसुकेले गोल गरेका हुन्। यस जितसँगै एनआरटीले १२ खेलमा २० अंक जोडेको छ। एनआरटी लिगको दोस्रो स्थानमा उक्लिएको छ। मनाङले १२ खेलमा २० अंक जोडेको छ। मनाङ तेस्रो स्थानमा झरेको छ।
यस्तै आइतबार नै भएको अर्को खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले हिमालयनलाई २–१ गोल अन्तरले हराएको हो। जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गरे। हिमालयनका अमृत श्रेष्ठले एक गोल फर्काए। यस जितसँगै जावलाखेलले रेलिगेसनबाट जोगिने सम्भावना बलियो बनाएको छ। जावलाखेलले १२ खेलमा १३ अंक जोडेको छ। हिमालयनले १२ खेलमा १३ अंक नै जोडेको छ।











