हिउँ पन्छाएर मध्यपहाडी लोकमार्ग सञ्चालन
रुकुम पूर्व, फागुन ८ : तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ।लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक पुनः सञ्चालन भएको हो।...
रुकुम पूर्व, फागुन ८ : तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ।
लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक पुनः सञ्चालन भएको हो। पटक–पटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि पछिल्लो समयमा भने लामो समय सडक अवरुद्ध भएको थियो।
एक साता लगाएर हिउँ पन्छाएपछि अहिले सडक सञ्चालन भएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिए। गाउँपालिकाको इन्धन सहयोगमा उक्त खण्डमा काम गरिरहेको सिद्धी शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अध्यक्ष बुढाले बताए।
उनका अनुसार वडा नं १ को लामाक्याङबाट रुकुमपूर्व र बागलुङको सिमाना पातीहाल्नासम्मको अन्दाजी आठ–नौ किलोमिटरमा जमेको हिउँ पन्छाइएको छ।
यस खण्डमा साढे दुई फिटदेखि पाँच फिटसम्म हिउँ जमेको थियो। मध्यपहाडीको महत्वपूर्ण खण्डमा हिउँ जम्दा यात्रु समस्यामा परेका थिए।
गाउँपालिका, निर्माण कम्पनी, प्रहरी, प्रशासनको समन्वयमा सडक सञ्चालन गरिएको हो। हरेक वर्षको यही समयमा हिउँले मध्यपहाडी लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अवरुद्ध हुँदा यात्रुले समस्या झेल्दै आइरहेका छन्।
सडकमा जमेको हिउँ पन्छाएसँगै नियमितरूपमा रुकुमपूर्व र रोल्पाबाट पोखरा–काठमाडौँ सवारी चल्न थालेको यातायात व्यवसायीले बताएका छन्। (रासस)












