‘म्याग्दी प्रेस’ दैनिकको प्रकाशन सुरु
म्याग्दी, फागुन ७ : जिल्ला सदरमुकाम बेनीबाट शनिबारदेखि ‘म्याग्दी प्रेस’ दैनिक पत्रिकाको प्रकाशन सुरु भएको छ।दलप्रसाद विक (अमित) प्रकाशक र लक्ष्मीनिधि रिजाल (विमल)...
म्याग्दी, फागुन ७ : जिल्ला सदरमुकाम बेनीबाट शनिबारदेखि ‘म्याग्दी प्रेस’ दैनिक पत्रिकाको प्रकाशन सुरु भएको छ।
दलप्रसाद विक (अमित) प्रकाशक र लक्ष्मीनिधि रिजाल (विमल) सम्पादक रहनुभएको प्रत्रिकाको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले लोकापर्ण गरे।
कार्यक्रममा जिसस प्रमुख केसीले म्याग्दीको विकास, पर्यटन प्रवद्र्धन, सुशासनका क्षेत्रमा पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताए।
'पत्रकार र राजनीतिकर्मीहरू नैतिकता जोगाएर अघि बढ्नुपर्छ', उनले भने, 'म्याग्दीको समग्र विकासमा पत्रकारिता क्षेत्रबाट थप सक्रिय भूमिका आवश्यक छ।'
नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले नयाँ पत्रकार उत्पादन, उनीहरूका क्षमता विकास र पेशागत निरन्तरतामा महासङ्घले जोड दिएको बताए।
सञ्चारमाध्यमको विकाससँगै पत्रकारिताको विकासमा पनि सहयोग पुग्ने उनको भनाइ थियो । पत्रकार महासङ्घ म्याग्दीका सचिव तथा रिखार दैनिक पत्रिकाका प्रकाशक सन्तोष गौतमले सञ्चारमाध्यम र पत्रकारबीच सकारात्मक तथा स्वच्छ प्रतिस्पर्धाको आवश्यकता औँल्याए।
यसअघि म्याग्दीबाट रिखार राष्ट्रिय दैनिक र रुप्से दैनिक पत्रिका प्रकाशन हुँदै आएका थिए। समृद्ध, बेनी, नवविकल्प, म्याग्दी सञ्चार, बुलबुल साप्ताहिक पत्रिका प्रकाशन भइरहेका छन् । म्याग्दी काली एफएम सञ्चालनमा छ भने रेडियो म्याग्दी बन्द भएको छ।
धवलागिरि खबर, म्याग्दी अनलाइन, बेनी अनलाइन, कोरला पोष्ट, मयुरपाटी, गण्डकीपत्र, म्याग्दी न्यूज, जनसन्देश, इरुप्से, पुनहिल अनलाइन पत्रिका म्याग्दीबाट प्रकाशन भएका छन् ।












