Kathmandu Press

‘ए’ डिभिजन लिग : रेलिगेसनमा पर्‍यो च्यासल

‘ए’ डिभिजन लिग : रेलिगेसनमा पर्‍यो च्यासल

काठमाडौं, फागुन ७ : च्यासल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगबाट रेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ। लिगको १२औं चरणअन्तर्गत शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबसँग २–१ले पराजित भएसँगै च्यासल एक खेल अगावै रेलिगेसनमा परेको हो। 

२०७३ मा ए डिभिजनमा बढुवा भएको च्यासल तीन सिजन शीर्ष डिभिजनको लिग खेलेर रेलिगेसनमा परेको हो। च्यासल १२ खेलमा ६ अंक जोडेर पुछारमा छ। फ्रेन्ड्सले १२ खेलमा १० अंक जोड्दै रेलिगेसन जोनबाट ठीक माथि उठेको छ। 

फ्रेन्ड्सलाई जित दिलाउन जमौल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे भने च्यासलका मौसा अबगानाले एक गोल फर्काए।

३८औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए। कप्तान नाथनियल जुड गार्सियाको हेडर पासमा उनले उत्कृष्ट चिप गोल गरेका थिए। ४३औं मिनेटमा एन्थोनीले पेनाल्टीमा गोल गर्दै गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए। 

५६औं मिनेटमा मौसाले पेनाल्टीबाट एक गोल फर्काए पनि त्यो गोल च्यासललाई जित दिलाउन पर्याप्त भएन। फ्रेन्ड्सका गोलकिपर राहुल यादवले राजिव लोप्चनलाई फाउल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो।
 

प्रकाशित मिति: १६:५८ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्