अलबिदा ‘अरुणका पुत्र’
काठमाडौं, असोज ३ : ‘हरि बैरागी अब हामी बीच रहनु भएन। पुरानो साथी, अखिलका दिनदेखिको। हक्की, सिर्जनशील, पार्टीमा आलोचनात्मक चेत भएको साथी ! ....
काठमाडौं, असोज ३ : ‘हरि बैरागी अब हामी बीच रहनु भएन। पुरानो साथी, अखिलका दिनदेखिको। हक्की, सिर्जनशील, पार्टीमा आलोचनात्मक चेत भएको साथी ! अब बाँकी उनका ती सुखद्, अनुकरणीय स्मृतिहरू !’
चीनका लागि पूर्व नेपाली राजदूत नेकपा केन्द्रीय सदस्य टंक कार्कीले शुक्रबार एकाबिहानै सामाजिक सञ्जाल फेसबुमा लेखे।
कार्की अखिलको नेता हुँदा ताकाकै अर्का तत्कालीन विद्यार्थी नेता कोमल भट्टराईको स्ट्याटस आयो, ‘पूर्व सांसद्, इनोभेटिभ र विनोदी मित्र हरि वैरागीको असामयिक र अकल्पनीय मृत्युको खबरले स्तव्ध भएँ, उहाँप्रति हार्दिक श्रद्धाञ्जलि !’
संखुवासभाबाट ०५१ सालमा चुनिएका साविक एमालेका पूर्वसांसद् हुन्, हरि वैरागी दाहाल। पछिल्लो समय उनको पहिचान बेग्लै थियो– हाइड्रो अभियन्ता।
तेह्रथुमका स्थायी बासिन्दासमेत रहेका जलविद्युत क्षेत्रमै कार्यरत प्रकाश दुलालले दाहालको निधनपछि लेखे, ‘निजी जलविद्युत् क्षेत्रका अभीयन्ता, पुस्पलाल मध्यपहाडी राजमार्ग र रानी–किमाथांका उत्तर दक्षिण राजमार्गको परिकल्पनाकार विकासप्रेमी नेता संखुवासभाका पुर्व माननीय सांसद हरि बैरागी दाहाल....।’
हो, हरि बैरागी दाहाल साच्चै विकास अभिन्ता थिए। पञ्चायतकालमै कम्युनिस्ट राजनीतिमा लागेका उनले जलविद्युत क्षेत्रमा निजी क्षेत्रलाई लगानी गर्न डोर्याएका थिए। सांसद् हुँदा पनि उनले हाइड्रो अभियानलाई निरन्तरता दिइरहे।
६२ वर्षीय थिए, उनी। करिब चार दशक कम्युनिस्ट राजनीति गरेका थिए। हृदयाघातका कारण शुक्रबार बिहान त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो। उनी केही दिनअघि हृदयाघात भएपछि उनलाई शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियोलोजी अस्पतालमा भर्ना गरिएको थियो।
पूर्वका दाहालहरूको प्रख्यात थातथलो संखुवासभाको मादीका हुन् उनी। उनको जन्म २०१४ साल कात्तिक २८ मा संखुवासभाको मादी कोपिले गाउँमा भएको थियो।
दाहालकै अगुवाइमा दुई दर्जनभन्दा बढी जनविद्युत कम्पनी स्थापना भए। निजी लगानीमा जलविद्युत उत्पादन गरी सर्वसाधारणको घर उज्यालो पारे।
दाहाललाई कम्युनिस्ट पार्टीका प्रखर नेताका रूपमा त्यस भेगमा सम्झने गरिन्छ। राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसबाट ०३५ सालमा उनी अनेरास्ववियुमा आबद्ध भएका थिए। उनी त्यसबेला अनेरास्ववियुको सप्तरी जिल्ला अध्यक्षसमेत भएका थिए।
आर्थिक परिर्वतन हुन नसके राजनीतिक परिर्वतनको प्रभाव देखिन सक्दैन भन्ने उनको मान्यता थियो। यही मान्यताका कारण पञ्चायतको अन्त्य भई बहुदलीय व्यवस्था स्थापनालगत्तै उनी विकास अभियन्ताका रुपमा अगाडि आए। जनताको मन जित्न सफल पनि भए। उनले कयौं राजनीतिक कार्यकर्तालाई व्यवसायी समेत बनाएको स्थानीय राजनीतिकर्मी स्मरण गर्छन्।
संखुवासभाका प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम उनलाई अत्यन्त मिलनसार साथीका रुपमा स्मरण गर्छन्। दाहाल बिरामी भएर अस्पताल भर्ना भएका बखतको भेटमा सांसद् दाहालले भनेका थिए, ‘उनले मान्छे त कसरी रिझाउँछ कसरी। सबै ऊसँग दङ्ग पर्छन्।’
सरल स्वभावका उनी जोकोहीसँग पनि सजिलै घुलमिल भइहाल्थे। त्यसभेगमा उनलाई ‘अरुण उपत्यकाको छोरा’ भन्ने गरिन्थ्यो। सकारात्मक सोच राख्ने कुशल राजनीतिक र विकास अभियन्ता थिए उनी।
दाहालकै अगुवाइमा ०५३ सालमा संखुवासभाको पिलुवाखोलाबाट ३ मेगावाट क्षमताको जलविद्युत आयोजना बनेको थियो। यो जलविद्युत निजी क्षेत्रको लगानीको थालनी थियो। त्यसपछि गाउँ–गाउँमा बिजुली उत्पादन गर्ने अभियानै चल्यो।
काठमाडौंको कोटेश्वर बस्दै आएका उनका पत्नी लक्ष्मी, दुई जना छोरीहरू र एक छोरा छन्। शुक्रबार बिहान नेकपा केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको दाहालको पार्थिव शरीरलाई अपरान्ह आर्यघाटमा दाहसंस्कार गरिएको छ।






