एनआरएनएको अध्यक्षमा कुमार पन्तद्वारा उम्मेदवारी घोषणा
काठमाडौं, असोज ३ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा पत्रक....
काठमाडौं, असोज ३ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उपाध्यक्ष पन्तले अध्यक्षमा उठ्ने औपचारिक घोषणा गरेका हुन्। एनआरएनएको नवौं विश्व सम्मेलन तथा महाधिवेशन असोज २८ देखि काठमाडौंमा सुरु हुँदैछ।
दुई कार्यकाल उपाध्यक्ष भइसकेका पन्तले विगतको सहमति अनुसार आफू सर्वसम्मत अध्यक्ष हुने दाबी गरेका छन्। ‘अघिल्लो पटक भएको सहमति अनुसार अध्यक्ष म नै सर्वसम्मत हुनु पर्छ,’ पत्रकार सम्मेलनमा उनले भने।
अघिल्लो पटक नै अध्यक्षमा उठ्न खोजेका पन्तले अन्तिममा भवन भट्टको प्यानलबाट उपाध्यक्षमा उठेर चुनाव जितेका थिए। पन्तले एनआरएनको लगानीमा काम भइरहेका परियोजनालाई छिटो सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए। उनले भ्रमण वर्ष २०२० सफल बनाउन पर्यटक भित्र्याउने एजेन्डालाई पनि अघि सारेका छन्।
पन्तले ‘भिजन २०२०’ को योजना आफ्नो मूल नारा भएको दाबी गरे। दुई कार्यकाल उपाध्यक्ष बसेका पन्तले त्यो अघि एक कार्यकाल महासचिव भएर काम गरिसकेका छन्।






