Kathmandu Press

दौडमा जेसिस माविका विश्वराम कुँवर र विजेश्वरी ज्ञान मन्दिरकी मनीषा गिरी प्रथम

दौडमा जेसिस माविका विश्वराम कुँवर र विजेश्वरी ज्ञान मन्दिरकी मनीषा गिरी प्रथम

काठमाडाैं, फागुन ७ : जेसिस मावि भक्तपुरका विश्वराम कुँवर र विजेश्वरी ज्ञान मन्दिर काठमाडौंकी मनीषा गिरी माध्यमिक विद्यालयस्तरीय उपत्यकाव्यापी सडक दौड प्रतियोगितामा पहिलो भएका छन्।

शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा काठमाडौंमा आयोजित दौडको छात्र ५ किलोमिटर दूरी विश्वरामले १७ मिनेट ०७.४ सेकेन्डमा पूरा गरे। पिनाकल एकेडेमी, ललितपुरका विकेश घिमिरे दोस्रो, बागेश्वरी मावि, भक्तपुरका अमराज थापा तेस्रो, सैनिक आवसीय मावि भक्तपुरका ईश्वरचन्द्र बस्नेत चौथो र बागेश्वरीका अविराज राईले पाँचौं स्थानमा दौड टुंग्याए।

छात्राको ३ किलोमिटर दूरी मनीषाले १५ मिनेट १५.८ सेकेन्डमा सकाइन्। दोस्रोदेखि चौथो स्थान हासिल गर्नेमा क्रमशः जेसिसकी प्रकृति सुवाल, नेपाल आदर्श मावि, काठमाडौंकी सरिता साह, जेसिसकी ऊर्जा मधिकर्मी र जेसिसकै स्वागता खाइजु रहेका छन्। दुवै समूहमा शीर्ष पाँच स्थान हासिल गर्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार पाए।

विजेतालाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सविच डा. दामोदर रेग्मी, राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। त्यसअघि दौडको मन्त्री गहतराजले नै उद्घाटन गरेका थिए। सो क्रममा उनले खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।

७२औं प्रजातन्त्र दिवसका अवसरमा आयोजित दौडमा २ सय प्रतिस्पर्धी सहभागी भएको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन्। दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिएको थियो।

प्रकाशित मिति: १४:१४ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्