वृद्ध आमाबुबाको सेवा गर्नु छोराछोरीको कर्तव्य : मुख्यमन्त्री राई
विराटनगर, फागुन ७ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमाबुबा भगवान्को स्वरुप भएकाले उचितरुपले पालनपोषण, हेरचाह र सेवा गर्नु छोरा छोरीको...
विराटनगर, फागुन ७ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमाबुबा भगवान्को स्वरुप भएकाले उचितरुपले पालनपोषण, हेरचाह र सेवा गर्नु छोरा छोरीको कर्तव्य भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवस-२०७८ मूल समारोह समिति मोरङद्वारा आज विराटनगर–८स्थित विराटेश्वर वुद्धाश्रम बहुद्देश्यीय भवन र मानवसेवा आश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिक, वृद्ध, असहायलाई फलफूल वितरणका क्रममा सो कुरा बताएका हुन्।
उनले विराटनगरमा नागरिकस्तरमा स्थापना हुने ज्येष्ठ नागरिक उपचार सेवा केन्द्र भवन निर्माणलाई आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको जानकारी दिँदै सामाजिक हितका लागि नागरिककातर्फबाट हुने कार्यमा सरकार होष्टेमाथि हैसे गर्न तयार रहेकाे बताए।
मुख्यमन्त्री राईले वृद्धाआश्रम व्यवस्थितरुपमा सञ्चालन गरी दिनदुःखीको सेवा गरेकामा सञ्चालक प्रति आभार प्रकट गर्दै प्रदेश सरकारले थप आवश्यक सहयोग प्रदान गर्ने धारणा व्यक्त गरे।
यसैगरी उनले वडा १० स्थित मानवसेवा आश्रममा रहेका असहाय नागरिकलाई फलफूल वितरण गर्दै मोरङको ग्रामथानमा निर्माण भइरहेको आश्रमलाई आगामी दिनमा थप बजेटको व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्त गरे।
सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले ज्येष्ठ नागरिक र असहायको सेवा गर्नु हामी सबैको कर्तव्य भएको बताए। प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्मचारी मिलन केन्द्र, विभिन्न कर्मचारी संघसंगठनले फलफूल वितरण कार्यक्रम आयोजना गरेका थिए।
वृद्धाश्रममा ६१ ज्येष्ठ नागरिक तथा मानव सेवा आश्रमका तीन भवनमा १५० असहायले आश्रय लिइरहेका छन्।












