कम्युनिष्टसँग सिद्धान्तमा बहस गरौं : पौडेल
काठमाडौं, असोज ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका....

काठमाडौं, असोज ३ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका छन्।
गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले कम्युनिष्टसँग विचारमा राजनीतिक प्रतिस्पर्धा पर्ने बताएका हुन्।
पौडेलले मुलुकका हरेक परिवर्तनमा कांग्रेसको सिद्धान्तले जिते पनि पार्टी नेताको व्यवहार, आचरण र चरित्रका कारण निर्वाचनमा पराजय भोग्नुपरेको उल्लेख गरे। वीपीको विचारलाई कार्यकर्तासम्म प्रशिक्षण दिनु जरुरी रहेको उनको भनाइ थियो।
वरिष्ठ नेता पौडेलले गाउँमा रहेका जनतालाई पूर्वाधार पुर्याउन नसक्दा अधिकांश मानिस पलायन हुँदै गएको भन्दै गाउँमा बस्ने वातावरण निर्माणमा सरकार लाग्नुपर्ने उल्लेख गरे। गाउँमा रोजगारीको अवसर सिर्जना नगरेसम्म पलायन हुने अवस्था नरोकिने उनको भनाइ थियो।
सबै नीतिको मूल नीति राजनीति भएकाले राजनीतिलाई सम्मानजनक बनाउन जरुरी रहेको नेता पौडेलको भनाइ छ। उनले पैसाका आधारमा पार्टी र सरकार कब्जा गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म मुलुक विकासको बाटोमा जान नसक्ने बताए।











