Kathmandu Press

राप्रपा (नेपाल) का अध्यक्ष साधारण सदस्यबाट निष्काशित

राप्रपा (नेपाल) का अध्यक्ष साधारण सदस्यबाट निष्काशित

काठमाडाैं, फागुन ६ : राप्रपा (नेपाल) ले अध्यक्ष लाक्पा तामाङले पार्टी हित तथा विधान विपरीत कार्य गरेको भन्दै साधारण सदस्यबाट निष्काशन गरेको छ। पार्टीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष तेजराज भुजेलले आफ्नो अध्यक्षतामा आज बसेको पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठकले अध्यक्ष तामाङलाई कारबाही गरेको जानकारी दिए।

पार्टीको २१ सदस्यीय कार्यसमितिमध्ये १५ सदस्यले कारबाही गर्ने निर्णय गरेको हो। पछिल्लो समय पार्टीमा देखापरेको विवाद समाधानका लागि पार्टीका नेता प्रदीपविक्रम राणालाई कार्यसमितिको संयोजक बनाउने निर्णय गरेको जानकारी दिइएको छ।

Hardik ivf

संयोजक राणाले पार्टीको वैचारिक दृष्टिकोण संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र भएकामा अध्यक्ष तामाङले केन्द्रीय कार्यसमितिको बैठक नराखी कमल थापालाई अध्यक्ष बनाएर पार्टीले गणतन्त्रको सिद्धान्त अवलम्बन गरेको अभिव्यक्ति दिएको घटना आश्चर्यजनक भएको तथा नियमसङ्गत नभएको बताए। उनले यस घटनाप्रति कानूनी उपचार खोज्ने क्रममा निर्वाचन आयोगमा निवेदनका साथै पाटनस्थित उच्च अदालतमा कार्य समितिका १५ सदस्यले मुद्दा दर्ता गरिसकेको जानकारी दिए।

गत मङ्सिरमा राप्रपाको अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका कमल थापाले हालै सो पार्टी परित्याग गरी राप्रपा (नेपाल) को नेतृत्वमा आफू रहेको भन्दै यही फागुन ७ गते शनिबार पत्रकार सम्मेलनको तयारी गरेका छन।

प्रकाशित मिति: १९:५५ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्