ए डिभिजन लिग रेलिगेनशनबाट जोगियो एपिएफ, एनआरटी शीर्ष पाँचमा
काठमाडाैं, फागुन ५ : जारी सहिद स्मारक ए डिभिजन लिगको ११औं चरणको समाप्तिमा विभागीय टिम एपिएफले आफूलाई रोलिगेशनबाट बचाएको छ। बिहीबार भएको खेलमा...
काठमाडाैं, फागुन ५ : जारी सहिद स्मारक ए डिभिजन लिगको ११औं चरणको समाप्तिमा विभागीय टिम एपिएफले आफूलाई रोलिगेशनबाट बचाएको छ। बिहीबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबमाथि ३–१को जित निकाल्दै एपिएफले आफूलाई रेलिगेशनबाट बचाएको हो।
जितपछि एपिएफ १४ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ। बाँकी रहेका दुबै हारेपनि एपिएफ रेलिगेसनमा पर्ने छैन। हारपछि पनि मनाङ २० अंकसहित दोस्रो स्थानमै छ।
३७ औं मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाए। गोलकिपर विशाल सुनारको लामो पासमा एपीएफका गोलकिपर युया कुरियामा अघि बढेको अवस्थामा अञ्जनले हेडमार्फत गोल गरेका थिए।
४०औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काए। उनले नविन लामाको पासमा गोल गरेका थिए। ८१औं मिनेटमा रवि थिङको पासमा मणिकुमार लामाले गोल गर्दै एपिएफलाई अग्रता दिलाए। ८७औं मिनेटमा नवीन लामाले गोल गर्दै एपिएएफलाई जित दिलाए।
यसैगरी अर्को खेलमा संकटा क्लबलाई १–०ले हराउँदै न्युरोड टिम एनआरटी पाँचौं स्थानमा उक्लिएको छ। बिहीबार भएको खेलमा एनआरटीले संकटामाथि १–०को जित निकाल्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि २८औं मिनेटमा स्टेफेन समिरले निर्णायक गोल गरे।
एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा उक्लेको छ। उसले संकटालाई नै पछि पारेको हो। संकटा ११ खेलबाट १५ अंकसहित छैटौं स्थानमा झरेको छ।











