चीनमा साइबर सेक्समा कसरी फसे उत्तर कोरियाबाट भागेका महिला
दुई वर्षभन्दा लामो समयदेखि २० वर्षीया ली जिन हुइ उत्तरपूर्वी चीनको एउटा तीन कोठे अपार्टमेन्टमा बन्दी थिइन्।
सातै दिन उनी मध्यान्हदेखि बिहान ५ बजेसम्म एउटा कम....
दुई वर्षभन्दा लामो समयदेखि २० वर्षीया ली जिन हुइ उत्तरपूर्वी चीनको एउटा तीन कोठे अपार्टमेन्टमा बन्दी थिइन्।
सातै दिन उनी मध्यान्हदेखि बिहान ५ बजेसम्म एउटा कम्प्युटरअघि बस्नुपर्थ्यो। त्यसको वेबक्यामअघि बसेर पुरूष ग्राहकका लागि यौन क्रियाकलाप गर्नुपर्थ्यो। अधिकांश ग्राहक दक्षिण कोरियाली थिए।
अपार्टमेन्टमा बस्ने ली र अन्य उत्तर कोरियाली महिलाले चिनियाँ दलालका लागि सातामा आठ सय २० अमेरिकी डलर कमाउनु पर्थ्यो। ती दलालले उनीहरूले मानव तस्करबाट खरिद गरेका थिए। भने जति कमाउन नसक्दा उनीहरूलाई थप्पड, लात्ति हानिन्थ्यो। खानसमेत दिँदैन थिए।
“बिरामी हुँदा पनि काम गर्नुपर्थ्यो,” लीले भनिन्,“म त्यहाँबाट भाग्न चाहन्थें तर के गर्नु, झ्यालबाट बाहिर मात्रै हेर्न सक्थें।”
प्रत्येक वर्ष मानव तस्करहरूले उत्तर कोरियाबाट भाग्न चाहने हजारौं महिला बेचबिखन गर्ने गरेको मानवअधिकारवादी समूह र बेचबिखनमा परेर उद्धार गरिएकाहरू बताउँछन्। उनीहरूलाई चीनमा राम्रो काम लगाइदिने प्रलोभन दिइन्छ।
तर चीन पुगेपछि धेरै महिला दुर्गम गाउँका अविवाहित पुरूषलाई बेचिन्छन्। नभए कुनै वेश्यालय वा साइबरसेक्सको अड्डामा यौन शोषणका लागि दलालहरूलाई बेचिन्छ।
मानव तस्करबाट भागेमा, उनीहरूलाई उत्तर कोरिया फिर्ता पठाइन्छ। जहाँ श्रम शिविरमा यातना र कैदी जीवनभन्दा केही पाउँदैनन्। चीनमा कतैबाट पनि सहयोग नपाउने भएपछि यौनदासी भएर बस्नु उनीहरूको बाध्यता बन्छ।
चीनमा करिब ६० प्रतिशत उत्तर कोरियाली महिला शरणार्थी यौन व्यवसाय र साइबरसेक्समा जबरजस्ती लगाइने लण्डनस्थित अधिकार समूह कोरिया फ्युचर इनिसिएटिभले मे महिनाको प्रतिवेदनमा जनाएको छ।
“नौ वर्षका बालिकालाई वेबक्यामअघि यौन क्रियकलाप प्रदर्शन गर्न बाध्य बनाइएको छ र उनीहरूलाई यौन दुर्व्यवहार पनि गरिएको छ। त्यस्ता दृश्यहरू शुल्क तिर्ने विश्वव्यापी दर्शकलाई लाइभ स्ट्रिम गरिन्छ। तीमध्ये धेरैजसो दक्षिण कोरियाली पुरूष भएको विश्वास गरिन्छ,” प्रतिवेदनमा भनिएको छ।
सन् २०१७ मा तस्करी गरिएकी लीलाई चीनमा वेट्रेसको काम लगाइदिने भनिएको थियो। आइपुग्दा रोजगारदाताले कम्प्युटरमा “च्याटिङ” गर्ने काम भएको बताइन्। त्यतिबेलासम्म उनले कम्प्युटर भन्ने देखेकी थिइनन्। वेबक्याम के हो थाहा थिएन। त्यतिबेला उनी १८ वर्षकी थिइन्।
“च्याटिङ भनेको कम्प्युटरमा खातापाता राख्ने बेला भन्ने ठानें,” २३ वर्षीया किम येनाले बताइन्। चीनमा च्याउ टिप्ने काममा लगाइदिने भन्दै उनलाई गत नोभेम्बरमा तस्करले देशबाट बाहिर ल्याएका हुन्। ली र किम दुवै अगष्ट १५ मा बन्दीजीवनबाट भागे।
त्यसको छ दिनपछि उनीहरू लाओसको वियनतान पुगे। चीन लाओसको सीमा पार गर्नलाई उनीहरूले एक जना पुरूषलाई चार हजार अमेरिकी डलर दिए। उनीहरूको प्रतिक्षामा थिए रेभरेन्ड चुन कि वोन। उनी दक्षिण कोरियाका पास्टर हुन्। उनले नै ती दुई उत्तर कोरियाली महिलाको उद्धारको योजना बनाउनुका साथै खर्च बेहोरेका थिए।
दुवै जनाले अन्तर्वार्ता दिन सहमति जनाए। गोपनियताको सुरक्षा र उत्तर कोरियाली सरकारले उनीहरूका आफन्तलाई दु:ख नदिउन् भनेर उनीहरूको नाम परिवर्तन गरिएको छ। “बिना कागजपत्र बस्ने विदेशीविरूद्ध चीनले कारवाही बढाएको छ। साइबरसेक्सका लागि उत्तर कोरियाली महिलालाई अपार्टमेन्टमा थुनेर राख्ने मानव तस्करहरूको पहिलो रोजाइँ बनेको छ,” चुनले भने,“लाज हटाउन महिलाहरूलाई लागू औषध दिन्छन् र लामो समयसम्म काम गर्न लगाउँछन्।”
उत्तर कोरियाबाट भाग्दा
ली र किम सन् ९० को दशकमा जन्मिएका हुन्। त्यतिबेला भोकमरीले झण्डै १० प्रतिशत जनसंख्या सखाप पारेको थियो। मुश्किलले प्राथमिक तहको शिक्षा पूरा गरेपछि उनीहरूको काम गर्न थाले।
किम फलफूल र चीनबाट तस्कर गरिएका दक्षिण कोरियाली लुगा बेच्थिन्। ली जडिबुटी संकलन गरेर बिक्री गर्थिन्। उमेर बढ्दै गएपछि उनीहरूको गृहनगर हेसान र चीनको सीमा भएर बग्ने नदी छेउका अन्य शहर मानव तस्करको पञ्जामा पर्योच। सन् २०१७ मा लीलाई आफन्तले नै बेचे।
“म आफैं पनि चीन जान चाहन्थें किनभने त्यहाँ गएर पैसा कमाएर केटीहरूले घरा पैसा पठाएको मैले सुनेकी थिएँ,” लीले भनिन्।
दुई जना मानव तस्करबाट ली अन्तिममा यस्तो पुरूषको चंगुलमा परिन् जसले त्यसअघि नै उत्तरपूर्वी चीनको हेलोङमा पाँच जना उत्तर कोरियाली महिलालाई बन्दी बनाएर राखेका थिए। किम पनि भाग्न चाहन्थिन्। उत्तर कोरियाका नेता किम जोङ उन बजारका युवा व्यापारीलाई खोजिरहेका थिए। राज्यको नेतृत्वमा भइरहेको निर्माण परियोजनाहरूमा लगाउने उनको लक्ष्य थियो। साथी बनेकी एक जना महिला तस्कर किमलाई चीन लैजान भइन्।
नोभेम्बर १८ तारिख बिहान ४ बजे भाइ र किम सीमामा कुरेर बसेका थिए। एक जना सिपाही आए र बाटो खाली भएको बताए। तस्कारलाई बाटो राम्रैसँग थाहा थियो। खासै गहिरो नभए पनि चिसो पानी बग्ने नदी हुँदै सीमाको बारमुनि एउटा दुलोबाट उनीहरूलाई सीमा पार गराइन्। १२ घण्टा हिँडेपछि तस्करले जमिनमा गाडेर राखेको मोबाइल झिकेर फोन गरिन्। केही घण्टापछि एउटी महिला कारमा आइन्। चिनियाँ नगद, जुत्ता, कपडा र अन्य सामग्रीको पोको उत्तर कोरियाली तस्करलाई जिम्मा लगाइन्। किमको किनबेच भयो।
किमलाई किन्ने महिला पनि हेसानकै थिइन्। यौन तस्करको गिरोहका लागि काम गर्थिन्। १२ जना “वेबक्याम” महिला उनको जिम्मामा थिए। सबै हेसानकै थिए। उनीहरूलाई उत्तरपूर्वी चीनको गोङजुलिङ वरपरका अपार्टमेन्टमा राखिएका थिए। किमले उनलाई ८० हजार रेन्मिन्बी वा करिब ११ हजार एक सय ६० अमेरिकी डलर भुक्तान गर्न बाँकी रहेको बताइन्।
“उनका लागि तीन वर्ष काम गरेपछि म दक्षिण कोरिया जान पाउँछु भन्थिन्,” किमले भनिन्,“साँच्चिकै मेहनत गरे त्यहाँ सम्मानको जीवन बाँच्न सकिन्छ भन्ने सुनेकी थिएँ। मलाई त्यतिमात्रै चाहिएको थियो।”
साइबर सेक्सको दासता
लीका केही दक्षिण कोरियाली ग्राहकले बयान गर्नै नसकिने यौन कार्य पनि गर्न लगाउँथे। “नमाने, मलाई उत्तर कोरियाको फोहोर भन्दै नानाभाँती गाली गर्थे,” उनले भनिन्।
केहीलाई दया पनि लाग्यो। लीका दुई जना ग्राहकले नियमित पैसा पठाउँथे। किम केहीबेर सुत्न सकुन् भन्ने उनीहरू चाहन्थे।
गएको डिसेम्बरमा ली बसेकै स्थानबाट एक महिला बेपत्ता भइन्। मानव अंग तस्करहरूले फकाएको र सम्भवत: मृत्यु पनि भइसकेको दलाले बताए। घटनापछि अन्य महिला तर्सिए। अपार्टमेन्टबाट दुई जना महिला मात्रै छुटेको किमले बताइन्। दुवैलाई क्षयरोग भएको थियो। निर्ममतापूर्वक कुटाइ खाएपछि थप दुई जना पानीको पाइप चढेर छैठौं तलाबाट भाग्ने प्रयास गरे। उनीहरू पक्राउ परे। दलालले घुस नदिएपछि उनीहरूलाई उत्तर कोरिया फिर्ता पठाइयो। सबैलाई पाठ होस् भन्ने दलालको चाहना थियो।
किम भन्छिन्,“उत्तर कोरियाभन्दा यहाँ जीवन कति राम्रो छ भन्ने सम्झ भन्थिन्।” दासजस्तै अवस्था भए पनि लीले उत्तर कोरिया फर्किनेबारे कहिले सोचिनन्। दक्षिण कोरिया जानु नै उनको लक्ष्य थियो। धेरै पैसा कमाएर आमा र बहिनीलाई पनि त्यतै लैजाने उनको सोच थियो।
“म आफैंलाई सम्झाउँथे। धैर्य गर भन्थे। समय आएपछि दक्षिण कोरिया पक्कै पुगिनेछ भन्थें,” उनले भनिन्।
स्वतन्त्रको छलाङ
सन् १९९५ को अन्तिमतिर चुन पास्टर बनेका थिएनन्। होटेल चलाउँथे। व्यापारिक यात्राको क्रममा उनी हुनचुन आएका थिए।
हुनचुन उत्तर कोरियाको सीमामा रहेको चिनियाँ शहर हो। त्यहाँको अवस्था देखेर उनी दु:खी भए। भोकमरीबाट भाग्दा भाग्दै मरेका मानिसको बेवारिसे लाश देखे। नदी पार गर्दा चिसो कठ्याङ्ग्रिएर मेरका मानिस देखे। भिख माग्दै गरेका बालबालिकालाई प्रहरीले लौरो लगाएको देखे। दुई जना पुरूषले अपहरण गर्दै गर्दा चिच्याइरहेकी महिला देखे।
पछि उनी क्रिस्चियन मिसनरी बने। सन् २००० यता उनले चीनमा रहेका १२ सय उत्तर कोरियाली शरणार्थीलाई दक्षिण कोरिया ल्याएका छन्। तीमध्ये धेरै जबरजस्ती विवाहका लागि तस्कर गरिएका महिला पनि छन्। पछिल्ला वर्षहरूमा उनले चीनको साइबरसेक्स अड्डामा फसेका महिलाबाट अज्ञात अनलाइन सन्देश पाउन थाले। उनीहरूको उद्धार गर्न चाहने पुरूषले पनि फोन गर्न थाले। उनी दक्षिण कोरियाको राजधानी सोलमा डुरिहाना मिसन सञ्चालन गर्छन्।
जुलाईमा पशुको खाना पुर्यारउने एक पुरूषले त्यसरी नै फोन गरेका थिए। उनले किमको स्वतन्त्रताका लागि उनको रोजगारदातालाई डेढ करोड दक्षिण कोरियाली वोन वा १२ हजार तीन सय ६० अमेरिकी डलर पठाए। तर किमलाई दक्षिण कोरिया लैजाने वाचा गरेका तस्करले अर्कै चिनियाँ पुरूषलाई बेचिदिए। किमलाई जबरजस्ती विवाहबाट बचाउन पहिलेकै रोजगारदातालाई उनले फेरि डेढ करोड वोन पठाए। अनि बल्ल उनले ठगिएको चाल पाए।
त्यही बेला लीलाई सहयोग गर्न इच्छुक एक जना पुरूषले चुनलाई फोन गरे। उनीसँग अर्को अचम्मको समाचार थियो: मानव अंग तस्करहरूले अपहरण गरेको बताइएको महिलाले एउटा वेबक्याम साइटबाट उनलाई सम्पर्क गरिन्। उनले तेश्रो तलामा रहेको अपार्टमेन्टबाट हाम फालेर दक्षिण कोरिया बसिरहेको बताइन्। चुनले ग्राहक बनेर ली र किमसँग सम्पर्क गरे।
भागेकी महिलाले चुनलाई ली बसेको स्थान पत्ता लगाउन सहयोग गरिन्। एक पटक रोजगारदाताले बाहिर लैजाँदा नजिकैको रेस्टुरेन्टको फोन नम्बर किमलाई याद थियो। झ्यालबाट बाहिर चिहाएर ली र किमले आफू बसेको स्थान पत्ता लगाउन सकेसम्म सहयोग गरे। चुनले पनि उनीहरूले दिएको जानकारी अनुसार गुगल अर्थमार्फत् उनीहरू बसेको स्थान पत्ता लगाए।
त्यसपछि चुनले सात जना स्वयंसेवक चीन पठाए। तीमध्ये दुई जना मानव बेचबिखनमा परेका व्यक्ति नै थिए। अगष्ट १५ मा किमको अपार्टमेन्टबाहिर एउटा समूह ट्याक्सीमा पर्खिरहेको थियो। उनीहरू किम, अर्की केटी र उनीहरूको रोजगारदातालाई पछ्याइरहेका थिए। अकस्मात पानीको अभाव भएपछि उनीहरू खाना खान बाहिर निस्किएका थिए। फर्किदाँ किमले बिरामी भएको अभिनय गरिन्। बाटोभरि वान्ता गरिन् र एउटा सार्वजनिक शौचालयतर्फ दगुरिन्। रोजगारदाता अर्कै पसलमा पसेको मौका छोपेर किम उद्धारकर्ताहरू बसेको ट्याक्सीमा दौडेर पसिन्। अनि त्यहाँ ट्याक्सी पनि तीव्र गतिमा हुइँकियो।
चीन छाडेको धेरै दिनसम्म पनि उनी त्रस्त थिइन्। उनलाई कसैले पछ्याइरहेको छ कि जस्तो लाग्थ्यो। त्यही दिन हेलोङमा ली पनि कोठाबाट खुसुक्क बाहिर आइन्। उनको रोजगारदाता बाहिर पिउन निस्किएका थिए। लिभिङ रूमको झ्यालबाहिर उनले एउटा एयर म्याट्रेस देखिन्। एक जन उद्धारकर्मी उनलाई बोलाइरहेका थिए। बाहिर त निस्किइन् तर आँट आएन।
“डरलाग्दो उचाइ थियो,” उनले भनिन्,“तर त्यो मात्रै विकल्प थियो।” उनले हाम फालिन्। अगष्ट अन्तिमतिर एउटा दक्षिणपूर्वी एसियाली देशमा रहेको दक्षिण कोरियाली दूतावासअघि एउटा कालो रंगको भ्यान आएर रोकियो। चुनको हात समाएर ली र किम बाहिर निस्किए। यो उनीहरूको स्वतन्त्रतातर्फ अन्तिम केही पाइला थिए। स्टिलको गेट पनि खुल्यो र उनीहरू भित्र पसे।
न्युयोर्क टाईम्सबाट