कान्तिभैरव माविमा प्रमाणपत्रको मनपरी शुल्क
काठमाडौं, फागुन ५ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित कान्तिभैरव माध्यमिक विद्यालयले प्रमाणपत्र र चारित्रिक प्रमाण पत्रको मनपरी शुल्क उठाएको भन्दै विद्यार्थीले आपत्ति जनाएका...
काठमाडौं, फागुन ५ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित कान्तिभैरव माध्यमिक विद्यालयले प्रमाणपत्र र चारित्रिक प्रमाण पत्रको मनपरी शुल्क उठाएको भन्दै विद्यार्थीले आपत्ति जनाएका छन्।
दस जोड दुई उत्तीर्ण गरेका विद्यार्थीसँग विद्यालयले प्रमाणपत्रको रु. १ हजार ५०० र चारित्रिक प्रमाणपत्रको रु. ४ हजार असुल्ने गरेको विद्यार्थीको आरोप छ। छात्रा नीरा राईले शुल्क तिर्दा विद्यालयले बिलसमेत नदिएको गुनासो गरे।
विद्यालयका लेखापाल दीपेन्द्र सिम्खडा भने प्रमाणपत्रको राष्ट्रिय परीक्षा बोर्डमा रु. १ हजार १०० बुझाउनुपर्ने र भाडाबापत रु. ४०० बढी लिएको बताउँछन्।
चारित्रिक प्रमाणपत्रको भने विद्यालय व्यवस्थापन समितिले नै रु. ४ हजार लिने निर्णय गरेको उनको दाबी छ। सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि विद्यालयले मनपरी शुल्क असुल्ने गरेका छन्।
विद्यालयका प्रधानाध्यापक तीर्थराज कोइराला ११ र १२ कक्षा चलाउन शिक्षक कोटा एवं स्रोत नभएकाले विद्यार्थीसँग बढी शुल्क लिनुपरेको बताउँछन्। स्थानीय तह सञ्चालन ऐन, २०७४ ले माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई नै दिएको छ।
२०७४ देखि ११ र १२ कक्षा सुरु गरेको विद्यालयलाई प्रत्येक वर्ष रु. ३ लाख घाटा भएको उनको भनाइ छ। नगरपालिकाले ११ र १२ कक्षा चलाउन जोड गरे पनि सहयोग भने नगरेको विद्यालयले जनाएको छ।
नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले विद्यालयलाई सहयोग गर्दैआएको बताउँछन्। प्रमाणपत्रको शुल्क नगरपालिकाभित्रका विद्यालय कसैले रु. ५०० र कोहीले रु. ५ हजार ५०० भन्दा बढी लिने गरेको उनले सुनाए।
शुल्क तिर्न नसक्ने विद्यार्थीलाई निवेदनका आधारमा नगरपालिकाले सहुलियत दिँदै आएको छ। विद्यालयले ११ र १२ कक्षामा रु. १६ हजार शुल्क लिएर पढाउने गरेको जनाएको छ। उक्त विद्यालयमा ११ र १२ कक्षामा शिक्षाशास्त्र तथा व्यवस्थापन संकायमा पठाइ हुन्छ।
नगरपालिकाका शिक्षा शाखाका कार्यवाहक प्रमुख विमलप्रसाद निरौला माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भएकाले शुल्क लिन नपाइने बताउँछन्।
कान्तिभैरवमा प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रकै शुल्क लिएका सन्दर्भमा जिज्ञासा राख्दा उनले अनुगमन गरेर निर्देशन दिने बताए। विगतमा पनि यस्ता गुनासा आउने गरेको शिक्षा शाखाले जनाएको छ।












