पशुपति क्षेत्रमा देवीदेवताका चित्र पेन्टिङ गर्न मन्त्री आलेको निर्देशन
काठमाडौं, फागुन ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण...
काठमाडौं, फागुन ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएका छन्।
पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुगेका मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गर्न पशुपति विकास कोषका पदाधिकारीलाई निर्देशन दिए।
यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रमा रहेका अव्यवस्थित टहरा, पसल व्यवस्थित ठाउँमा तत्काल सार्न र यहाँ फूल प्रसाद बिक्री गर्नेका लागि पायक पर्ने ठाउँमा पसल निर्माण गर्नसमेत निर्देशन दिए।
निरीक्षणकै क्रममा मन्त्री आलेले पशुपति क्षेत्रमा सफाइ राख्न पनि निर्देशन दिए। उनले पशुपति परिसरमा सरसफाइ, जीर्णोद्धार तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गर्नसमेत आग्रह गरे।
देश विदेशबाट आउने लाखौँ भक्तजनको सहज सुविधा र आकर्षण बढाउन पशुपतिको अहिलेको अव्यवस्थालाई पूरै हटाएर व्यवस्थित र आकर्षक बनाइने मन्त्री आलेले बताए।
पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले मन्त्रीको निर्देशनपछि व्यावसायिक कलाकार लगाएर भित्तामा कलात्मक तस्बिर चित्रण गर्ने काम तत्काल सुरु गरिने बताए।












