विद्यालयबाटै क्रिकेट खेलाडी उत्पादन गर्न प्रशिक्षण दिइने
काठमाडौं, फागुन ५ : मालव्यून क्रिकेट क्लब, बेलायत र नेपाल क्रिकेट फाउन्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने...
काठमाडौं, फागुन ५ : मालव्यून क्रिकेट क्लब, बेलायत र नेपाल क्रिकेट फाउन्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालयस्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेका छन्।
फाउन्डेशनद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ को मोरङ, धनकुटा र मधेश प्रदेशका आठ जिल्लाका विद्यार्थीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी ज्ञान दिने जानकारी दिइएको छ।
मेलव्यून क्लबका निर्देशक एन्गुस बेरीले आगामी दुई वर्षका लागि नेपालका विद्यालयस्तरमा छात्रछात्रालाई विशेष प्रशिक्षण दिन वार्षिकरुपमा रु ३० लाख सहयोग गर्ने जानकारी दिए।
उनले प्रशिक्षणबाट उत्कृष्ट भएका नेपाली खेलाडीको एक समूह गठन गरी भविष्यमा बेलायत र ओमानलगायत अन्य देशमा प्रतियोगितामा सहभागी गराइने बताए।
फाउन्डेशनका संयोजक अभिशेषक श्रेष्ठले तल्लो तहबाट खेलाडीलाई क्रिकेट सम्बन्धित ज्ञान दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल्नका लागि सक्षम बनाउन प्रशिक्षणको आयोजना गरिएको बताए।
उनले सन् २०१६ देखि विराटनगरमा प्रशिक्षण सुरु गरी हालसम्म १४ जना राष्ट्रियस्तरका महिला खेलाडी उत्पादन गर्न सक्षम भएको जानकारी दिए।
बेलायतका क्रिकेट प्रशिक्षकद्वय साना वेग लि र जोनाथन वुथाले क्रिकेटप्रति छात्रछात्राको आकर्षण वृद्धि गरी आयआर्जनमा सक्षम बनाउन प्रशिक्षणको आयोजना गरेको जानकारी दिए। (रासस)












