के अर्थमन्त्रीको अभिव्यक्तिको प्रभाव सकिएको हो?
काठमाडौं, असोज २ : दुई कारोबार दिनअघि अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिसँगै बजार सकारात्मक भए पनि बिहीबार तेस्रो दिन बजार पुनः सच्चिएको ....
काठमाडौं, असोज २ : दुई कारोबार दिनअघि अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिसँगै बजार सकारात्मक भए पनि बिहीबार तेस्रो दिन बजार पुनः सच्चिएको छ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १८ दशमलव १२ ले घटेर ११५५ दशमलव ३० को विन्दुमा पुगेको छ। ११७३ दशमलव ४४ को विन्दुमा खुलेको दोस्रो बजार ११७८ दशमलव ३२ को उच्च विन्दुसम्म पुगेको थियो। दोस्रो बजार परिसूचकमा १ दशमलव ५४ प्रतिशतकोे गिरावट देखिएको छ।
बजारको न्यून विन्दु ११५४ दशमलव ३४ रहँदा दिनभरमा ३९ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको ५ करोड २४ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज समता माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने गुराँस लघुवित्तका शेयरधनीले सर्वाधिक ८ दशमलव ४६ प्रतिशतले गुमाए।
प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार ११७३ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालीन प्रतिरोध १२०० मा रहेको भनिएको थियो तर आज बजार ११७३ भन्दा माथि स्थिर नरहेकाले बजार सच्चिएको देखिन्छ।
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार हाल बजारले प्रतिरोध क्षेत्रलाई निश्चित रुपमा तोड्न असफल रहेको देखिन्छ। आज बजारले वियरिस मैनबत्ती आकृति बनाएको छ। यसले बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ। आजको परिमाणले बजारमा विक्रेता हाबी रहेको संकेत गरेको छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो बढ्दो प्रवृत्तिमा रहेको बजार आज घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आज बजारले दुई पटक ११७३ को प्रतिरोधलाई सामना गरे पनि निश्चित रुपमा तोड्न असफल रहेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले डेड क्रस बनाएको छ। यसले बजार केही सच्चिन सक्ने संकेत गर्दछ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) २३ दशमलव ४५ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले शेयर बढी विक्री भएको संकेत गरे पनि बजार सकारात्मक भई हाल्ने संकेत गरेको भने देखिँदैन।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुले बजार सच्चिन सक्ने संकेत गरे पनि यदि बजार ११८० भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालीन प्रतिरोध ११९० देखि १२०० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार ११५३ भन्दा तल स्थिर रहेमा बजार पुनः केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा ११४१ मा रहेको देखिन्छ।






